अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ प्रशवनीको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष सुमित्रा कुमारी चौधरीको अध्यक्षता तथा अग्नीसाइर क्रुष्णासवन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
उत्कृष्ट सदस्यलाई सम्मान गर्दै वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरीले अमसोत गाउँपालिकामै सबैभन्दा उत्कृष्ट सहकारी संस्थाको रुपमा रहेको भन्दै प्रशंसा गरिन । गाउँपालिकामा रोजगारी सिर्जना गर्दै किसान तथा पछाडि परेका बर्ग तथा समुदायको आर्थिक समृद्धि तथा रुपान्तरणमा योगदान पुर्याएको भन्दै उनले गाउँपालिकाले दिने सेवा सुविधामा प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन ।
संस्थाको तर्फबाट सम्मान तथा मायाको चिनो ग्रहण गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले किसानको सेवामा समर्पित यस सहकारीले प्रवाह गरेको सेवालाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उत्पादनमुखी र किसानलाई प्रत्यक्ष लाभ हुने कार्यमा लगानी बढाउन आग्रह गरे ।
युवा तथा साना स्वरोजगर कोष सप्तरीका संयोजक हरिदेव चौधरीले सहयोग बजेटको सदुपयोग तथा ॠण चुक्ता गर्ने जिल्लामै पहिलो संस्थाको रुपमा रहेको भन्दै खुशी व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङले कुनैपनि संस्थाको उन्नति प्रगतिका लागि वित्तीय अनुशासन र सबै कार्यक्रमलाई पारदर्शी बनाउनु अपरिहार्य रहेको बताए ।
राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख संजय कुमार महतोले आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारीले अतुलनीय योगदान पुर्याएको भन्दै यसलाई थप प्रभावकरी बनाउँदि निरन्तरता दिन आग्रह गरे ।
उत्कृष्ट सदस्यलाई चेक हस्तान्तरणसहित सम्मान गर्दै कार्यबाहक अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले अमसोत सामुदायिक कृषि सहकारी संस्थाले गरेको प्रगति र उदाहरणीय कार्यबाट अरुले पनि प्रेणा लिनुपर्ने बताए । उनले सहकारीले कृषि तथा वित्तीय क्षेत्रमा अविस्मरणीय योगदान गरेको बताए ।
अध्यक्षीय प्रतिबेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष चौधरीले संस्थाले अग्नीसाइर कृष्णासवन, रुपनी र महादेवा गरि ३ स्थानीय तहमा कर्यक्षेत्र विस्तार गरिएको तथा ११ सयबढी शेयर सदस्य क्रियाशील रहेको उल्लेख गरिन । उनले गरिब न्यूनीकरण तथा कृषि उत्पादन र सामाजिक परिवर्तन हुने कार्यमा ६ करोडबढी संस्थाले लगानी गरेको बताइन् ।
आयव्यय प्रस्तुत गर्दै संस्थाका व्यवस्थाक रामी यादव । फोटो : न्यूज टुडे
सहकारीका व्यवस्थापक रामी यादवले आव २०८१/०८२ को ७ करोड ८९ लाख ७३ हजार ४ सय ३३ रुपैयाँको आयव्यय प्रस्तुत गरे। उनले ८ करोड बराबरको आव २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
लेखा समिति संयोजक कपिल देव मण्डलले आव २०८१/०८२ को ७ करोड ८९ लाख ७३ हजार ४ सय ३३ रुपैयाँको कारोबारसहितको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बार्षिक रु २५ लाख ६३ हजार ७ सय ४ खुद नाफा कमाउँदै आएको बताए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ॠणी, शेयर सदस्य, किसानलाई नगदसहित सम्मान गरिएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा पत्रकारहरुलाई कदरपत्रद्वारा सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
सहकारी संस्थाका लेखापाल अशोक कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत कोषाध्यक्ष सरिता योन्जन तामाङले गरिन ।
साधारणसभाले आगामी ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।