न्यूज टुडे
राजविराज, १६ मंसिर ।
हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ बनौलीमा सोमबार मोटरसाइकलको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ बर्षीय दिप्रेन्द्र पासवानको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
खडक नगरपालिका ११ स्थित हुलाकी सडकखण्ड।अन्तर्गत सडक छेउमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ट्याक्टर चालक पासवान गम्भीर घाइते भएको प्रहरीले बताएका छन्।
ट्याक्टरको पछाडी भागमा थ्रेसर जोडेर धान दाई गरिरहेको बेला सडकमा उभिरहेको अवस्थामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मोटरसाइकलले ट्याक्टर चालक पासवानलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका १२ अर्नाहा चोकका २८ बर्षिय रामचन्द्र चौधरी समेत घाइते भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए । घाइते चौधरीको अबस्थामा सामान्य रहेको तथा घट्नाबारे थप अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए ।