• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निर्वाचन–केन्द्रित कार्यमा सक्रिय हुन जसपा नेपालद्वारा केन्द्रीय सदस्यहरुलाई निर्देशन

निर्वाचन–केन्द्रित कार्यमा सक्रिय हुन जसपा नेपालद्वारा केन्द्रीय सदस्यहरुलाई निर्देशन
न्यूज टुडे
राजविराज, १६ मंसिर ।
जनता समाजवादी पार्टी ( जसपा) नेपालले निर्वाचन–केन्द्रित संगठनात्मक कार्यमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको आगामी निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यहरूलाई पार्टीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन – केन्द्रित कार्यमा खट्नुपर्ने  जिम्मेवारी तोकेको हो । 
जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई तोकिएका जिम्मेवारी अन्तर्गत संसदीय निर्वाचन क्षेत्रमा रही निर्वाचन–केन्द्रित कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेको छ । 
प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बूथ समितिहरू गठन गरी सक्रिय रूपमा परिचालन गर्ने तथा  गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल तथा गाउँ समिति शीघ्र गठन सम्पन्नसहित संगठन तथा संरचना निर्माणमा लाग्न निर्देशन गरिएको छ । 
प्रत्येक वडास्तरमा आवश्यक सङ्ख्यामा स्वयंसेवक परिचालन, तालिम र व्यवस्थापन गर्न जसपाले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्देशनको साथ आग्रह गरेको छ । 
यसैगरी निर्वाचनलाई ध्यानमा राख्दै प्रदेश र जिल्ला समितिद्वारा सञ्चालन भइरहेका जनपरिचालन अभियान तथा आधारभूत संगठन निर्माण कार्यक्रममा सक्रिय समन्वय र सहयोग गर्न कडा निर्देशन गर्दै जनपरिचालन र संगठन विस्तार प्रदेश, राष्ट्रिय, जिल्ला, पालिका र मातहतका सबै संरचनासँग निरन्तर सञ्चार, समन्वय र कार्यान्वयन सुनिश्चित गर्न भनेको छ । 
चुनावी प्रचार–प्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा  प्रशिक्षण योजनाबद्ध रूपमा सञ्चालन गर्न भन्दै निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम र कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्रचार–प्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड दिएको छ । 
 प्रत्येक क्षेत्रको मतदाता तथ्याङ्क, संगठन स्थिति, प्रतिस्पर्धी दलहरूको अवस्था समेटेर नियमित रूपमा पार्टीमा रिपोर्टिङ गर्न तथा हाम्रो पार्टीका उम्मेदवारहरू सफल हुने सम्भावना उच्च रहेका क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालनका लागि तथ्याङ्क सङ्कलन र विष्लेशणका लागि नतिजा मुखी काम गर्न भनिएको छ । 
सक्रिय भूमिका, प्रभावकारी समन्वय र निर्वाचन–केन्द्रित संगठनात्मक कदमहरूबाट आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै केन्द्रीय सदस्यहरू आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होस् भनि जिम्मेवारीको साथ पार्टी काममा खटाइएको जसपा नेपालका केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।