हरे कृष्ण साह
राजविराज, १५ मंसिर ।
सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कानून संकायमा जिल्ला बहिराको विद्यार्थीहरुको आकर्षण बढेको छ । त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पसमा ३ वर्षे कानून विषयको स्नातक तह एलएलबीमा जिल्ला बहिराको विद्यार्थी संख्या भर्नामा वृद्धि भएको हो ।
तीनवर्षे कानून विषयको स्नातक तह एलएलबीमा भर्नाको लागि २०८२ साल असार महिनामा लिएको प्रवेश परीक्षामा ३ सय जनाको कोटामा ४ सय ४० जना विद्यार्थी उत्तीर्ण भएको थियो । उक्त नतिजा योग्यताक्रम सूची त्रिवि कानून संकाय डिन कार्यालयबाट भाद्र महिनामा प्रकाशित भएको थियो ।
क्याम्पस प्रशासनले पहिलो र दोस्रो पटक समेत भर्नाको लागि सूचना प्रकाशन गरी उत्तीर्ण विद्यार्थीको क्रम संख्या ३ सय २२ सम्म भर्नाको लागि सूचना प्रकाशित गरेको थियो ।सो भर्ना सूचिमा लगभग ८५ जना विद्यार्थी सप्तरीबाट रहेका छन् भने बाँकी भने अन्य जिल्लाहरुबाट रहेको क्याम्पसले जनाएको छ ।
लगभग ३० प्रतिशत जति विद्यार्थी सप्तरीबाट रहेका छन् भने बाँकी ७० प्रतिशत विद्यार्थी अन्य जिल्लाहरुबाट रहेका क्याम्पस प्रशासनले जनाएको छ ।
भर्ना भएका विद्यार्थीहरुमा सप्तरी जिल्ला सहित मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, बारा, पार्सा लगायतका जिल्लाहरु बाहेक सुनसरी, उदयपुर, झापा, ओखलढुंगा, खोटाङ्ग, सोलुखुम्बु , तेह्रथुम ,मकवानपुर,सिन्धुली, रामेछाप, धादिङ्ग, काभ्रेप्लान्चोक, सिन्धुपाल्चोक, दोलाखा, काठमाडौं, भक्तपुर , स्याङ्जा, नवलपरासी, गोरखा जिल्लाबाट रहेका छन् ।