न्यूज टुडे
राजविराज, १४ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सरकारी गाडी दुरुपयोग गरेमा कारबाही हुने भएको छ । गाउँपालिकाले आइतबार मातहतका कार्यालयहरुलाई पत्राचार गर्दै सरकारी प्रयोजन बाहेक अन्य कार्यमा सरकारी गाडी चलाउन रोक लगाएको हो ।
कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित पत्रमा सरकारी गाडीको दुरुपयोग नियन्त्रण, विदाको दिन संचालनमा रोक र कारबाहीको समेत चेतावनी दिएको छ ।
गाउँपालिका मातहत रहेका सरकारी सवारी साधनहरु ( गाडी, मोटरसाइकल,स्कुटर )आदि को दुरुपयोग पूर्ण रुपमा रोक्न र सरकारी कामकाजमा मात्र प्रयोग गर्न पत्रमा भनिएको छ।
यसैगरी सार्वजनिक विदा र शनिबारका दिन अत्यावश्यक सरकारी काम ( पास) लिएको अवस्थामा बाहेक कुनै पनि जनप्रतिनिधि वा कर्मचारीले व्यक्तिगत प्रयोजनका लागि सरकारी साधन प्रयोग गर्न नपाउने पत्रमा निर्देशन गरिएको छ ।
कार्यबाहक अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादवद्वारा गरिएको निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सम्बन्धित जनप्रतिनिधि र कर्मचारीबाट तत्काल सवारी साधन फिर्ता लिइ नियम अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
सवारी साधन संरक्षण गर्न गरिएको निर्णय अनुसारको निर्देशनलाई कडाईका साथ पालना गरि सुशासन कायम गर्न सहयोग गर्न पत्रमा आग्रह गरिएको छ ।
यसैगरी गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्ध संघर्ष समितिले गाउँपालिकाको निर्णयको स्वागत गरेको छ । प्रबक्ता तुलसी थारुले आफूहरुसंग गरिएको सम्झौता कार्यान्वयन गरेको भन्दै यसले पारदर्शिताको संदेश दिएको तथा सुशासन र समृद्धिको यात्रा पुरा गर्न सहयोग पुग्ने टिप्पणी गरेका छन् ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजिनामा दिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएकी उपाध्यक्ष कल्पना कुमारी चौधरी सरकारी गाडीको दुरुपयोग रोक्न एक्सनमा आएकी छन् ।
कार्यबाहक अध्यक्ष चौधरीले गाउँसभामा राजनीतिक दल ,पत्रकार, विभिन्न संघसंस्था, पूर्व जनप्रतिनिधि, नागरिक अगुवा, बुद्धिजीवीलाई सहभागी गराईएको तथा सरकारी गाडी दुरुपयोग रोक्न चालेको कदमको सर्वत्र प्रशंसा गरिको छ ।