• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १६ औं सभा सम्पन्न

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १६ औं सभा सम्पन्न
न्यूज टुडे
राजविराज,११ मंसिर । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाद्वारा पालिकाको सभाहलमा बिहीवार आयोजित एक समारोहका वीच गाउँसभा सम्पन्न भएको हो ।
१६ औं गाउँसभाको उद्घाटन समारोहमा मञ्चासीन  कार्यबाहक अध्यक्ष चौधरीसहित वडा अध्यक्षहरु । फोटो : न्यूज टुडे
गाउँपालिका  कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका प्रबक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादवले आर्थिक बर्ष २०८२/०८३ को ६१ करोड ९४ लाख १० हजार ७ सय ८७ रुपैयाँ बजेट, नीति, योजना  तथा कार्यक्रम प्रस्तुत गरे ।
प्रबक्ता यादवद्वारा प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा जनताको चाहना अनुसार छिटोछरितो सेवा प्रवाह अवलम्बन गर्ने तथा सुशासन र समृद्धिको यात्रालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने नीति लिएको छ ।
 कार्यबाहक अध्यक्ष चौधरीको अध्यक्षता आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि  पूर्व गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेसका मधेस प्रदेश महामन्त्री परशुराम चौधरीले  गाउँपालिका नेतृत्वल्लाई जन भावना अनुसार सबैसँग समन्वय गरि अगाडि बढ्न आग्रह गरे ।
१६ औं गाउँसभाको उद्घाटन समारोहमा सहभागीहरु : न्यूज टुडे

सभापतिको आशनबाट बोल्दै कार्यबाहक अध्यक्ष चौधरीले सबैको सल्लाह सुझावलाई आत्मसात गर्दै सबैपक्ष संग सहकार्य गरेर अगाडि बढ्ने  प्रतिबद्धता व्यक्त गरिन ।
संघीय सरकारका प्रतिनिधि महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विजय कुमार शर्माले खुल्ला सभामा सर्वपक्षीय उपस्थितिमा गाउँसभा गरेर पारदर्शिताको संदेश प्रवाह गरेको भन्दै प्रशंसा व्यक्त गरे । आगामी दिनमा समेत गाउँसभाको खुला सत्रलाई यसरी नै निरन्तरता दिनुपर्नेमा जोड दिदै उनले दोश्रो सत्र  बन्द सत्रमा गाउँसभा सदस्यहरुको सहभागीतामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा बृहत छलफल गरि पारित गर्न आग्रह गरे ।
पूर्व विधायक सरस्वती चौधरीले गाउँपलिकाको विकास र समृद्धिका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । विकास सबैको सामुहिक प्रयासले मात्र सम्भव हुने जिकिर गर्दै  उनले यसका लागि सबैले इमानदारीसाथ आफ्नो कर्तव्य पालना गरे विकासले आफै गति लिने विश्वास व्यक्त गरिन । 
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब एवम् गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्ध संघर्ष समितिका प्रवक्ता तुलसी थारु, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, भुमी समस्या आयोग सप्तरीका विज्ञ सदस्य पन्चदेव चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरी, नेपाली कम्युनिस्ट पार्टीका बेचन प्रसाद चौधरी, नेपाली काँग्रेसका दिव्यराज सुवेदी, जसपा नेपालका मिलन कुमार चौधरी, रास्वपाका अर्जुन कोइराला, जनमत गाउँपालिका अध्यक्ष दुर्गानन्द यादवले शुभकामना मनतव्य व्यक्त गरे । 
यसैगरी गाउँपालिका सहकारी समन्वय समितिका संयोजक रामी यादव, सहयोगी संस्थाका प्रतिनिधि बरदान श्रेष्ठ, रामजानकी बजार व्यवस्थापन समिति मट्टीगढाका अध्यक्ष भगवती प्रसाद चौधरी,ज्येष्ठ नागरिक वसन्त चौधरी,युवा नेता बेचन कुमार मण्डल, विरेन्द्र यादवलगायतका समेतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि चौधरी, उपसचिव शर्मा,  जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्था प्रमुख,वडा सचिबलाई कदरपत्र तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । 
‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार : गाउँपालिकाको समृद्धिको आधार” भन्ने मुल नाराकोसाथ आयोजित कार्यक्रममा  अग्नीसाईर कृष्णावरन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्य,वडा नम्बर ३ का वडा अध्यक्ष गोपालप्रसाद चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी,  वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष गाया चौधरी, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु लगायतका पलिका अन्तर्गतका पार्टी प्रतिनिधि ,संघसंस्थाका प्रतिनिधि,  पत्रकार, सुरक्षाकर्मी बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति थियो । 
प्रशासन प्रमुख योगेन्द्र प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले गरे । 
स्थानीय तह संचालन ऎन २०७४ अनुसार असार १० गते भित्र गाउँसभा गर्नुपर्नेमा आन्तरिक विवादका कारण ४ महिनापछि यसअघि असोज ५ गते १५ औं गाउँसभा गरिएपछि गाउँसभा बन्द नहुँदै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजिनामा दिएपछि पुन: २ महिनापछि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले गाउँसभा गरेको हो ।