न्यूज टुडे
राजविराज, ०९ मंसिर ।
उपचार खर्च जुटाउन नसक्दा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ का ५४ बर्षीय अनिरुद्धलाल देव अस्पतालमै अलपत्र परेका छन् । राजविराज -भारदह सडकखण्ड अन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको सडेपारमा नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते देव उपचारको अभावमा विराटनगर स्थित एक अस्पतालमा अलपत्र परेका हुन् ।
नम्बर नखुलेको सबारीसाधनको ठक्करले गम्भीर घाइते भएका उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको परिवारले जनाएको छ ।
करिब एक महिना अगाडि देवलाई तिलाठी कोइलाडी गाउँपालिकाको सडेपारमा नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएर सबारी साधन फरार भएको उनका छोरा रामभजन देवले बताए ।
टाउकोमा गम्भीर चोट लागेका बुवाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको उनले बताए । टाउकोको शल्यक्रिया गर्दा रु ५ लाख जति खर्च भइसकेको र अझै अस्पताललाई र औषधि बिल समेत गरी रु ५ लाख तिर्न बाँकी रहेको रामभजनले बताए ।
शल्यक्रियापछि बुवाको स्थितिमा सुधार भएपनि वक्यौता नतिर्दा अस्पतालबाट बाहिर जान नसकिएको उनले दुखेसो सुनाए । खर्च अभावले घर फर्काउन तथा उपचार गराउन समस्यामा परेको बताउँदै उनले बुवाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।