• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जेनजी आन्दोलनको असर : सडक निर्माणमा रफ्तार

जेनजी आन्दोलनको असर : सडक निर्माणमा रफ्तार
न्यूज टुडे
राजविराज, ०९ मंसिर  
जेनजी आन्दोलनको प्रभाव भौतिक पूर्वाधार विकासको कार्यहरुमा समेत देखिन थालेको छ । जेनजी आन्दोलन पछि सप्तरीको राजविराज-रुपनी सडकसहित रोकिएको विभिन्न ठाउँका सडक  निर्माण कार्यमा रफ्तार देखिन थालेको हो । 
राजविराज-रुपनी चारलेन सडक निर्माण कार्य एकदशक देखि जारी राखिदा समेत खासै प्रगति हुन सकेको थिएन । सडक खनेर अलपत्र छोड्ने त्यसपछि निर्माण कम्पनी नै फेरीने चक्र दशकदेखि चल्दै आएको स्थानीय बताउछन् ।
राजनीतिक संरक्षणमा निर्माण कम्पनीहरुको चरम लापरवाहीले सडक निर्माणमा ढिलासुस्ती मात्र नभएर वीचैमा काम छोड्ने प्रवृत्तिले सडक निर्माणमा खासै प्रगति हुन सकेको थिएन । 
पछिल्लो लामो समय साह कन्ट्रक्सशले ठेक्का लिएर वीचैमा काम छोडेर भागेपछी हाल जेवी कन्ट्रक्सशनले सडक निर्माणको जिम्मेवारी लिएका छन् । 
उक्त कम्पनीले पनि लामो समय पछि सडक निर्माणमा तीब्रता दिएको  छ ।  ठेक्का लिएर पनि कामलाई गति दिन नसकेका जेवी कन्ट्र्क्सशनले भदौ २३ र २४ को जेनजी बिद्रोहबाट बनेको सरकारले दवाव बढाएपछि सडक निर्माण कार्यले रफ्तार लिएको स्थानीयहरुले बताएका छन् । 
ठेक्का लिएर पनि काम नगर्ने निर्माण कम्पनीलाई उर्जा, शहरी तथ भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले कारबाही गर्ने चेतावनी दिएपछि कामले गति पाएको स्थानीय संचारकर्मी नर्मदेव यादवले बताए ।
‘यसअघि सडक अलपत्र हुँदा ठूलो मार खेपिरहेका स्थानीयबासी तथा यातायात व्यवसायीहरुले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नै हुँदैन थियो’ उनले भने, सडक आन्दोलनबाट स्थानीय जनप्रतिनिधिसहितले दवाव दिदा समेत सडक निर्माणको कार्यमा खसै प्रगति भएको थिएन, हाल जेनजी सरकार गठन पछि सडक निर्माणका कार्य तीब्र गतिमा अगाडि बढेको छ ।’
उनले रुपनी-राजविराज सडक मात्र नभएर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनपुर-कमला चार लेन सडक निर्माणको कार्यले पनि गति लिएको बताए ।  चाइना रेल्वे इन्जिरिङ्ग ग्रुपले ठेक्का पाएको उक्त सडक निर्माण कार्य ८ बर्ष पुग्दा समेत ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 
सडक निर्माण कार्यमा ढिलासुस्ती हुँदा दुर्घटना वृद्धि हुनको साथै सडक आसपासका बासिन्दाहरु विभिन्न रोगको शिकार बन्ने गरेका छन् ।