• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महुलीमा थारु तथा मिथिला लोककला कार्यशाला

महुलीमा थारु तथा मिथिला लोककला कार्यशाला
न्यूज टुडे
राजविराज, ०८ मंसिर । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा सोमबार थारु लोककला तथा मिथिला लोककला कार्यशाला आयोजना गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नकशाल काठमाडौको सहकार्यमा थारु कलाकार समाज नेपाल, कमर्शियाल आर्टिष्ट संघ सप्तरीद्वारा कार्यशाला आयोजना गरेको हो।
थारु कलाकार समाज नेपालका अध्यक्ष श्रवण थारुको अध्यक्षता तथा अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यशाला आयोजना गरिएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरीले कार्यक्रमले प्राचीन कला संस्कृति जगेर्नामा टेवा पुग्ने विश्वास व्यक्त गरिन । गाउँपालिकामा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले यसको प्रबर्द्धन र विकासका लागि गाउँपालिकाबाट समेत  आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । 
चित्र बनाउन अभ्यास गर्दै सहभागी विद्यार्थीहरु । फोटो : न्यूज टुडे
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब देवेन्द्र कुमार काफ्ले ( धुम्केली)ले नागरिकलाई सिर्जनशील बनाउन ललितकला अपरिहार्य भएको बताए । ललितकला र यसको महत्त्व बारे प्रकाश पार्दै उनले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै नागरिकको जीवन स्तर उकास्न  सान्दर्भिक हुने उल्लेख गरे ।
स्थानीय श्याम चौधरीले बर्तमान प्राविधिक युगमा समेत ललितकलाको महत्व उतिकै रहेको चर्चा गरे । उनले चित्रकलाको माध्यमबाट आफुले सफलता हाँसिल गरेको स्मरण समेत गरे । 
प्रावि इटहर्वाका प्रधानाध्यापक सुवाष कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थारु कलाकार समाज नेपालका कोषाध्यक्ष छविल चौधरीले गरे । 
कार्यक्रममा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नकशाल काठमाडौका प्रज्ञा परिषद सदस्य एवम् हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश संयोजक अरुषा हिङ्ममाङ,  प्रज्ञा परिषद सदस्य प्रदिप अधिकारी, पत्रकार बृजमान तामाङलगायतका स्थानीय आर्टिष्ट, शिक्षक विद्यार्थीहरुको उपस्थिति थियो ।