न्यूज टुडे
राजविराज,०५ मंसीर।
सप्तरीमा ९ सय ७८ किलो गाँजासहित १ जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । फत्तेपुर – भारदह सडकखण्ड अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका २ स्थित बरमझियाबाट विहीबार राति उक्त परिणामको लागू औषध गाँजा सहित धरान उप महानगरपालिका १३ बस्ने वर्ष २५ को संजय श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक डम्बर वहादुर पूरी र इलाका प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले नेतृत्वमा संयुक्त रुपमा खटेको प्रहरी टोलीले गाँजासहित श्रेष्ठलाई राती १० :३० बजे नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बरमझियामा ना५ ख ५३५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९ सय ७८ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रक, गाँजा र चालक श्रेष्ठलाई तत्कालै नियन्त्रमा लिई लागू औषध कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।
यस अघि ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेपनि संलग्न व्यक्ती भने पक्राउ गरेका थिएन । कुख्यात गाँजा तस्कर जगानन्द मण्डललाई प्रहरीले नियन्त्रमा लिएपछि लामो समय पछि यतिको ठूलो मात्रामा गाँजा समातिएको हो ।