• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जेनजी विद्रोहको मर्म सरकार परिवर्तन तथा निर्वाचन मात्र होइन : नेता साह

जेनजी विद्रोहको मर्म सरकार परिवर्तन तथा निर्वाचन मात्र होइन : नेता साह
न्यूज टुडे
राजविराज, ०५ मंसिर ।
जनता समाजवादी पार्टी नेपालका नेता एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जेनजी विद्रोहको मर्म सरकार परिवर्तन तथा निर्वाचन मात्र नभएको बताएका छन् । सामाजिक संजालमा शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले जेनजी विद्रोह भावना सरकार परिवर्तन र निर्वाचन मात्र नभएको उल्लेख गरेका हुन् ।  
युवा पुस्ताले गरेको विद्रोह–के उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै सारिनु मात्र हो ?  नेता साहले  गम्भीर प्रश्न गरेका छन् । 
 यही प्रश्नले अहिले आशंका र दुविधा दुवै उत्पन्न गरिरहेको छ। भन्दै उनले संविधान संशोधन वा पुनःलेखन, निर्वाचन प्रणाली सुधार, शासकीय स्वरूपको पुर्नसमिक्षा, समानुपातिक समावेशिता, पहिचान जस्ता मूल राजनीतिक एजेन्डाहरू भने क्रमशः ओझेलमा पर्दै गएको प्रति घोर चिन्ता व्यक्त गरेका छन् ।
‘क्रान्तिकारी सिद्धान्त, संगठन र दूरदर्शी नेतृत्वबिनाको आन्दोलनले दीर्घकालीन रूपान्तरण दिन सक्दैन’ भन्ने तथ्य फेरि एकपटक पुष्टि भएको छ।” उनले उल्लेख गरेका  छन् ।
यस पृष्ठभूमिमा, वर्तमान सरकारले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, नागरिक स्वतन्त्रता, मौलिक हक र सामाजिक न्यायजस्ता परिवर्तनका प्रमुख आधारहरूलाई दृढतापूर्वक रक्षा गर्नु अत्यावश्यक रहेको बताउदै नेता साहले  संविधानवाद, संवैधानिक सर्वोच्चता र विधिको शासनलाई मजबुत बनाउँदै जनता—विशेषतः नयाँ पुस्ताको भावना र आकांक्षालाई ध्यानमा राखेर—देशमा फैलिएका अराजकता, भ्रष्टाचार, बेरोजगारी, गरिबी, अव्यवस्था र कुशासनका सबै रूप अन्त्य गर्न सरकार जिम्मेवार पर्नेमा जोड फिएका छन् ।
‘सबैभन्दा महत्त्वपूर्ण—निर्धारित मितिमा, अर्थात् २०८२ फागुन २१ गते, प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नैपर्छ।
त्यसका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय चुनावको माहोल सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व हो।’ मधेस प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका नेता साहले ‘शान्ति–सुरक्षाको विश्वसनीय प्रत्याभूति ,नागरिकलाई भयमुक्त वातावरण, मतदानको स्वतन्त्रता, पारदर्शी प्रक्रिया, निष्पक्ष र स्वतन्त्र निर्वाचन आयोग, स्वतन्त्र प्रेस र प्रभावकारी सूचना प्रवाह, कानूनी सुरक्षा, राजनीतिक दलहरूबीच समान अवसर र निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ ।’
यी सबै सुनिश्चित गरेपछि मात्र लोकतन्त्रमा जनताको आस्था बलियो रहने बताउदै नेता साहले सरकार र सबै राजनीतिक दलहरूबीच निरन्तर संवाद, समन्वय, र विश्वासको वातावरण निर्माण नै अहिलेको प्रमुख आवश्यकता रहेको जिकिर गरेका छन् ।