• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खानेपानी संस्थान राजविराजमा लगाइएको ताला खुल्यो 

खानेपानी संस्थान राजविराजमा लगाइएको ताला खुल्यो 
न्यूज टुडे
राजविराज,  ०४ मंसिर।
जेनजी समुहद्वारा नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा लगाएको ताला खोलिएको छ ।  आन्दोलनरत जेनजी समूह र जिल्ला प्रशासन कार्यालय सप्तरी वीच २ बुँदे सहमति पछि संस्थानको कार्यालयमा लगाएको ताला बिहीबार खोलिएको हो । 
सहमतिपछि संस्थान कार्यालयमा लगाइएको ताला खोल्दै जेनजीहरु । फोटो : न्यूज टुडे
खानेपानी संस्थानमा दरबन्दी अनुसारको कर्मचारी नपठाउन्जेल बर्तमान निमित्त हाकिमले नै कामकाज गर्ने तथा पाँचौ तहको हाकिम हुँदाहुँदै सोही तहका पठाए मान्य नहुने,  जेनजी समुहले राखेको सम्पूर्ण माग खानेपानी मन्त्रालय, सिंहदरबार काठमाडौ, खानेपानी तथा ढल व्यवस्थापन विभाग कमलपोखरी काठमाडौं लेखी पठाउने र खानेपानी संस्थानमा लागेको ताला आजैबाट खोल्ने सहमति भएको जेनजी अगुवा मो. मुस्तकीम आलमले वताए। 
माग सम्बोधनका लागि १० दिन सम्म पर्खने तथा सुनुवाई नभए पुन: संघर्षमा जाने  उनले जानकारी दिए। 
गत ३० गते आइतबार खानेपानी संस्थानको कार्यालयमा गरिएको तालाबन्दी २४ घण्टा नवित्दै प्रहरीले तोडेपछि आक्रोशित जेनजी समूहले बुधबार पुनः  तालावन्दी गरेका थिए ।
खानेपानी संस्थानलाई  कमजोर गर्ने खेल भइरहेकोले  यसको सुधारका लागी दवाव स्वरुप कार्यालयमा तालाबन्दी गर्नु पारेको जेनजी अगुवाहरुले बताए । कात्तिक ३० गते लगाएको ताला प्रहरीले वल प्रयोग गरी मंसीर १ गते फुटाएपछि जेनजी समुहका युवाहरु असन्तुष्ट बनेका थिए ।
प्रशासनले जबजस्ती गरेको भन्दै उनीहरूले मंगलबार सिडिओ र प्रहारी प्रमुख एसपी विरुद्ध  चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 
कार्य कुसल भएका निमित्त प्रमुख राजाराम यादवलाई  सरुवा गरि संस्थानलाई नेतृत्व विहीन गरि कामकाज प्रभावित गर्ने खेल सुरु भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको युवाहरुको भनाइ छ ।
उनीहरुले खानेपानी संस्थानलाई कमजोर गर्ने कार्य  स्वीकार्य नहुने बताए ।  पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले ठूलो मार खेप्नुपरेको उनीहरुको भनाइ छ । 
 १८ बर्षदेखी डेरा जनाएर बस्ने  कर्मचारीको इसारामा प्रशासनले जेनजी पुस्ताको घोर अपमान गरेको उनीहरुको गुनासो छ ।  कार्यालय तथा जनहीतको पक्षमा काम गर्ने कर्माचारीलाई सरुवा गर्नुमा ठूलो चलखेलबाट भएको बताउदै उनीहरुले शान्तिपुर्ण रूपमा माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । 
यस अघि  युवाहरूले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत कार्तिक २८ गते (शुक्रबार ) नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाण्डौलाई ज्ञापनपत्र  बुझाउँदै आन्दोलनको  चेतावनी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत नेपाल खानेपानी संस्थानका  महानिर्देशकलाई पठाइएको  ज्ञापनपत्रमा कार्यलय प्रमुख  राजाराम यादवलाई यथावत राख्न जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ दिइएको  ज्ञापनपत्रमा  जनभावना विपरीत गतिविधि गरिए सशक्त आन्दोलन गर्ने  समेत चेतावनी दिइएको थियो ।  
यसैगरी राजविराज नगरपालिकाले खानेपानी मन्त्रालयलाई पत्राचार गर्दै  कार्यालय प्रमुख यादवले खानेपानीको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै यथावत राख्न आग्रह गरेको छ । कार्यबाहक नगरप्रमुख इसरत परविनले पठाएको पत्रमा दरबन्दी अनुसारको कर्मचारी पठान वा यादवलाई नै हाल निमित्तको रुपमा खटाई दिन ध्यानाकर्षण गराइएको थियो।