न्यूज टुडे
राजविराज, ०३ मंसिर।
सप्तरीका जेनजी समुहले नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा पुनः तालाबन्दी गरेका छन् । गत ३० गते आइतबार खानेपानी संस्थानको कार्यालयमा गरिएको तालाबन्दी २४ घण्टा नवित्दै प्रहरीले तोडेपछि आक्रोशित उनीहरूले बुधबार पुनः ताल्चा लगाएका हुन् ।
खानेपानी संस्थानलाई कमजोर गर्ने खेल भइरहेकोले यसको सुधारका लागी दवाव स्वरुप कार्यालयमा तालाबन्दी गरेको जेनजी अगुवाहरुले बताए । कात्तिक ३० गते लगाएको ताला प्रहरीले वल प्रयोग गरी मंसीर १ गते फुटाएपछि जेनजी समुहका युवाहरु असन्तुष्ट बनेका थिए ।
प्रशासनले जबजस्ती गरेको भन्दै उनीहरूले मंगलबार सिडिओ र प्रहारी प्रमुख एसपी विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
कार्य कुसल भएका निमित्त प्रमुख राजाराम यादवलाई सरुवा गरि संस्थानलाई नेतृत्व विहीन गरि कामकाज प्रभावित गर्ने खेल सुरु भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको युवाहरुको भनाइ छ ।
उनीहरुले खानेपानी संस्थानलाई कमजोर गर्ने कार्य स्वीकार्य नहुने बताए । पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले ठूलो मार खेप्नुपरेको उनीहरुको भनाइ छ ।
१८ बर्षदेखी डेरा जनाएर बस्ने कर्मचारीको इसारामा प्रशासनले जेनजी पुस्ताको घोर अपमान गरेको उनीहरुको गुनासो छ । कार्यालय तथा जनहीतको पक्षमा काम गर्ने कर्माचारीलाई सरुवा गर्नुमा ठूलो चलखेलबाट भएको बताउदै उनीहरुले शान्तिपुर्ण रूपमा माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
यस अघि युवाहरूले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत कार्तिक २८ गते (शुक्रबार ) नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाण्डौलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको ज्ञापनपत्रमा कार्यलय प्रमुख राजाराम यादवलाई यथावत राख्न जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जनभावना विपरीत गतिविधि गरिए सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिइएको थियो ।