सप्तरीको तिरहुत गाउँपालिका २ मैना कडेरीमा दलित समुदायलाई सामुदायिक सिकाइ केन्द्र हस्तान्तरण गरीएको छ । नेपाल युथ फाउन्डेसन नेपालले निर्माण गरेको सुविधा सम्पन्न उक्त सामुदायिक सिकाई केन्द्र स्थानीय (खंग) समुदायलाई सोमबार आयोजित एक समारोहका वीच हस्तान्तण गरिएको हो ।
सामुदायिक सिकाइ केन्द्र अगाडि तस्वीर लिँदै स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला प्रतिनिधि। फोटो: न्यूज टुडे
फाउन्डेसन नेपालले ४८ लाखको लागतमा निर्माण गरेको सुविधा सम्पन्न केन्द्र स्थानीयको उपस्थितिमा उद्धघाटन गरेर समुदायलाई हस्तान्तरण गरेको फाउन्डेसनका प्रोजेक्ट कोडिनेटर ललित गहतराजले जानकारी दिए ।
´दलित समुदाय लक्षित गरेर यो कार्यक्रम शुरू गरेको हो । यस संस्थाले यस पालिकामा शिक्षा,स्वास्थ रोजगारी लगायत समग्र विकासका लागि काम गर्दै आएको छ’ उनले भने,शिक्षा र चेतनाको अवस्था कमजोर भएको वडामा यो संस्थाले काम गर्दै आएको छौं ।’
उद्घाटन समारोहमा सहभागीहरु । फोटो: न्यूज टुडे
यस सामुदायिक सिकाई केन्द्रमा प्रत्येक दिन ती समुदायका बालबालिकालाई दुई घण्टा निशुल्क ट्युसन,साढे तिन वर्षसम्मको बालबालिकालाई पोषण युक्त खानेकुरा,सरसफाइ तथा बालबालिकाहरू शारीरिक रूपमा स्वस्थ्य हुन खेलकुद ,बिद्यालय छोडेेका बालबालिकालाई विद्यालय फर्काउन,विद्यालय नजानेलाइ निशुल्क शिपमूलक तालिम दिएर रोजगारीमा लगाउने, स्थानीय महिलालाई पनि आर्थिक उपार्जनका लागि निशुल्क शिपमूलक तालिम लगायत कार्यक्रमहरू यस पालिकामा संचालनमा रहेको उनले बताए।
तिरहुत गाउँपालिका १ का अध्यक्ष शिवनारायण मेहता लगायत जनप्रतिनिधि तथा स्थानीयले रिवन काटेर भवनको उद्घाटन गरेका थिए ।
पालिकाको वडा नं १ धनपुरी १ वटा,वडा नं २ मैना कडेरीमा १ वटा,वडा नं ३ गोइठी र पिप्राहीमा गरि दुईवटा तथा वडा नं ५ लोहजारा १ वटा गरि २ करोड मुल्य बराबरको ५ वटा सुविधा सम्पन्न सामुदायिक सिकाइ केन्द्र निर्माण गरि केन्द्रमा आवश्यक किचन सेट,फर्निचर लगायत आवश्यक सामाग्री समेत उपलब्ध गराएको गहतराजले बताए ।
सामुदायिक सिकाई केन्द्रहरू पाएर स्थानीयहरू हर्षित भएका छन् । समुदायले सदुपयोग गर्न पाउने सेवा सुविधा सम्पन्न आफ्नो घर पाएको जस्तो अनुभूति भएक तिरहुत गाउँपालिका २ मैना कडेरीकी संगिता खंगले बताइन्।
‘यस पालिकाको पछाडि पारिएका दलित समुदायका बस्तीमा सामुदायिक सिकाइ केन्द्रको स्थापना गरेर हामीलाई हस्तान्तरण गरेपछि यसबाट हाम्रो बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्नेमा हामी विश्वस्त छौ। ‘ उनले भने
यस भवन हाम्रो समुदायको बालबालिका पढ्न ,खेल्न, पोषण युक्त खानेकुरा खान र सरसफाइ कसरी गर्ने सिक्छन्’ उनले थपिन् ‘हाम्रो समुदायले यस भवनको वर्षौसम्म उपयोग गर्न पाउने छौ।’
हामी गरिबको लागि यति गरिदिएकोमा खुशी भएको स्थानीय सुमित्रा खतवे बताउँछिन्।
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले हाम्रो पालिकाको लागि यस संस्थाले उदाहरणीय कार्य गरेको बताए । सामुदायिक सिकाई केन्द्र मार्फत विशेषगरी दलित समुदायको शिक्षा,स्वास्थ्य तथा रोजगारीको लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।