न्यूज टुडे
राजविराज,०२ मंसीर।
जेनजी पुस्ताद्वारा राजविराजमा मंगलबार सिडिओ र एसपी विरुद्व प्रदर्शन गरेका छन्। नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा गरिएको तालाबन्दी बल प्रयोग गरी फुटाएको भन्दै उनीहरु विरोध प्रदर्शन गरेका हुन् ।
जेनजी अगुवा मो. मुस्तकिम आलम नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र खानेपानी संस्थान अगाडि टायर बालेर प्रजिअ टुवराज पोखरेल र प्रहरी उपरीक्षक गौतम कुमार केसी विरुद्व चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्।
‘जेनजी पुस्ताको माग पुरा गर, जेनजी पुस्ताको मागलाई अपमान गर्न पाइँदैन, चोर बाटोबाट ताला फुटाउनु पाइँदैन, सिडिओ चोर जिल्ला छोड, एसपी चोर जिल्ला छोड लगायतका नारा लगाउँदै उनीहरू सडक आन्दोलनमा उत्रिएका थिए ।
आईतबार जेनजी समूहले खानेपानी संस्थानलाई कमजोर गर्ने खेल भइरहेकोले यसको सुधारका लागी दवाव स्वरुप कार्यालयमा तालाबन्दी गरेका थिए । सोमबार बल प्रयोग गरी ताला फुटाएको थियो ।
शान्तिपूर्ण रूपमा भएको संघर्षका कार्यक्रममा बल प्रयोग गरी आन्दोलनलाई दबाउने प्रयास सिडिओ र एसपीले गरेका कारण सडक आन्दोलनमा उत्रीन बाध्य भएको जेनजी अगुवा आलमले वताए। उनले आफूहरुले लगाएको ताला खोल्न समन्वय नगरेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
कार्य कुसल भएका निमित्त प्रमुख राजाराम यादवलाई सरुवा गरि संस्थानको कामकाज प्रभावित गर्ने खेल सुरु भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको युवाहरुको भनाइ छ ।उनीहरुले खानेपानी संस्थानलाई कमजोर गर्ने कार्य स्वीकार्य नहुने बताए । पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले ठूलो मार खेप्नुपरेको उनीहरुको कथन छ ।
कोही १८ बर्षदेखी डेरा जनाएर बस्ने र कार्यालय तथा जनहीतको पक्षमा काम गर्ने कर्माचारीलाई सरुवा गर्नुमा ठूलो चलखेलबाट भएको बताउदै उनीहरुले शान्तिपुर्ण रूपमा माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
यस अघि युवाहरूले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत शुक्रबार नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाण्डौलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत नेपाल खानेपानी संस्थानका महानिर्देशकलाई पठाइएको ज्ञापनपत्रमा कार्यलय प्रमुख राजाराम यादवलाई यथावत राख्न जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जनभावना विपरीत गतिविधि गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।