न्यूज टुडे
राजविराज, ०१ मंसीर।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो राजीनामा स्वीकृत तथा कार्यबाहकको जिम्मेवारी तोकिएको कार्यपालिकाको निर्णय बदर गर्न माग बमोजिम अन्तरिम आदेश उच्च अदालत जनकपुर- राजविराजले दिन अस्वीकार गरेको छ । न्यायाधीश उज्ज्वल शुक्ला र अचुतम कुमार आचार्यको संयुक्त इजलासले अध्यक्ष चौधरीले माग गरे अनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
उच्च अदालत जनकपुर – राजविराजले सोमबार दुबैपक्षलाई छलफलका लागि बोलाएको थियो ।
अध्यक्ष चौधारीले १८ कार्तिकमा कार्यपालिकाको निर्णय अनुसार आफ्नो अध्यक्ष पदको राजीनामा स्वीकृत गरेको छ भन्ने उपाध्यक्ष कल्पना कुमारी चौधारीको हस्ताक्षर सहितको राजीनामा स्वीकृत व्यहोरा एबम् सोही निर्णयकाे आधारमा राजीनामा स्वीकृत आदेश लगायत राजीनामाको विषयमा भएको हरेक निर्णय बदर गर्न माग गरेका थिए ।
यसैगरी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधारीलाई जनाई गाउँपालिकाको कुनैपनि कार्यक्रम संचालन नगर्नु नगराउनु भनी उपाध्यक्षको नाउँमा अन्तरिम आदेश गरी पाउँ भन्ने रिट निवेदनमा अध्यक्ष चौधरीले माग दावी गरेका थिए ।
आदेशमा नेपालको संविधानको धारा २१५ को उपधारा (८) मा भएको गाउँपालिका अध्यक्ष रिक्त हुने विषय समेतको संवैधानिक एबम् कानूनी प्रश्न रिट निवेदन साथ संलग्न प्रमाण कागजहरु छलफलको क्रममा विपक्षीबाट पेश भएका कागजहरू तथा पछि पेश हुने लिखित जवाफको समेत मूल्याङ्कन विवेचना गरी प्रस्तुत रिट निवेदकको अन्तीम सुनवाई हुँदा सम्बोधन तथा निरूपण हुनुपर्ने देखिएकोले यस्तो आदेश गरिरहनु नपर्ने आदेशमा भनिएको छ ।
‘निवेदकले परमादेशको आदेश समेत माग गरेको देखिंदा सो सम्बन्धमा पछी हुने निर्णय प्रभावित हुने गरी सुविधा तथा सन्तुलनको दृष्टीकोण समेतबाट हाल निवेदन माग बमोजिम आदेश गरिरहनु परेन,कानुन बमोजिम गर्नु’ न्यायधीश शुक्ला र आचार्यद्वारा जारी आदेशमा उल्लेख छ ।
अध्यक्ष चौधारीले राजनिनामा दिएपछि कार्तिक १८ गते कार्यपालिका बैठकद्वारा स्वीकृत गर्ने निर्णय गरी उपाध्यक्ष कल्पना कुमारी चौधारीले अध्यक्षको राजीनामा स्वीकृत गरेकी थिइन्। सोही कार्यपालिका बैठकले उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी प्रदान गरेका थिए। अदालतको आदेश सँगै उपाध्यक्ष चौधरीले कार्यबाहक अध्यक्ष रुपमा काम गर्ने पाउने भएकी छिन्।
अध्यक्ष चौधरीले पत्रकार सम्मेलन गर्दै राजीनामा पत्रमामा आफ्नै हस्ताक्षर भएपनि झुक्याएर गरिएको भन्दै राजीनामा नदिएको दावी गर्दै आएका छन्।