न्यूज टुडे
राजविराज,०१ मंसीर ।
मधेश प्रदेशका पाँच प्रदेश सभा सदस्यको पद यथावत रहने भएको छ । सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेपछी उनीहरूको पद कायम गरेको हो ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई कारण देखाउ आदेश जारी गरेका छन्।
सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको केही छिनमै उनले जनता समाजवादी पार्टी (जसपा) का मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंहलाई पदमुक्त गरेका थिए ।
अदालतको उक्त आदेशसँगै पाँचै जना प्रदेशसभा सदस्यहरूको पद यथावत रहने भएको छ । सभामुखको कदम विरुद्ध सांसदहरूले सर्वोच्चमा रिट दायर गर्दै सभामुखको कारबाही असंवैधानिक भएको दाबी गरेका थिए ।
अदालतले विपक्षी पक्षलाई कारण देखाउन आदेश गर्दै, जवाफ नआउँदासम्म रिटकर्तालाई सार्वजनिक पदबाट हटाउन नपाइने स्पष्ट पारेको छ ।