• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विवाह गरेर पछि स्वीकार नगरेपछी संजिता विचल्लीमा

विवाह गरेर पछि स्वीकार नगरेपछी संजिता विचल्लीमा
न्यूज टुडे
राजविराज, २९ कार्तिक ।
विवाह गरेर श्रीमान्   र उनको परिवारले स्वीकार नगरेपछी एक युवती विचल्लीमा परेकी छन्। सप्तरीको कंचनरूप नगरपालिका–७  की २८ वर्षिया संजिता साह विचल्लीमा परेकी हुन्।
 १८ महिना फेसबुक मार्फत प्रेममा परेर जीवनभर साथ निभाउने वाचा सहित एक अर्कालाई श्रीमान् श्रीमतीको रूपमा स्वीकार गरेर अदालतमा विवाह दर्ता गराएको श्रीमानले बोली, वचन र व्यवहार फेरे पछी संजिताको बिचल्ली भएको हो । 
सप्तरीको रूपनी गाउँपालिका–३ मकरी टोलका ३० वर्षिय संदेश साहले यसरी बोली, वचन र व्यवहार परिवर्तन गरे पछि आफनो बिचल्ली भएको संजिताले बताइन्  । 
सप्तरीको कंचनरूप नगरपालिका–७ माइती भएको संजितासंग संदेशको २०८१ जेठ ९ गते पर्सा जिल्ला अदालतमा विवाह दर्ता भएको थियो । अदालतका शाखा अधिकृत राजन मिश्राको उपस्थितिमा दुबै जनाले निवेदन दिंदै एक अर्कालाई श्रीमान श्रीमतीको रूपमा स्वीकार गर्ने मन्जुरी गरे पछि दर्ता द्वारा विवाहको प्रमाण पत्र उपलब्ध गराईएको  उनले बताइन्।
संगिता सिन्धुली स्थित एक विद्यालयमा नर्स पदमा कार्यरत छिन भने संदेश विरगंज स्थित एक प्राइवेट कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन । समाजिक सन्जाल फेसबुक चलाउने क्रममा प्रेम सम्बन्ध स्थापित भएको र प्रेम गहिरिंदैं जाँदा विवाह गर्न पुगेको संजिताको भनाई छ ।
 सुरूका केहि दिन राम्रै बिते पनी पछि दाइजोको नाममा सासु, ससुरा र श्रीमानले शारीरिक र मानसिक यातना दिनुका साथै कुटपीट र घर निकाला समेत गरे पछि न्यायका लागि जिल्ला प्रशासन कार्यालय हुँदै सप्तरी जिल्ला अदालत सम्म पुगेको संजिताको भनाई छ । उनले दाइजोको निहुँमा आफुलाई प्रताडि़त गर्न थालिएको सुनाइन ।
 पछिल्लो पटक बिहिवार पुनः कुटपिट गर्दै घर निकाला गरे पछि जिल्ला प्रहरी कार्यालयमा कारवाहीको मांग गर्दै उनले उजुरी दिएकी छन् । यस अघि उनले श्रीमान संदेश संगै ससुरा धर्म देव साह, सासु किरणलाई प्रतिवादी बनाई सप्तरी जिल्ला अदालतमा दायर गरेको घरेलु हिंसा मुद्दा उपर सुनुवाई गर्दै २०८२ असार २३ गते न्यायाधिश मोहन बहादुर अधिकारीको एकल इजलाशले अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो । 
घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ को दफा ६ बमोजिम जारी आदेशमा निज संजितालाई सुरक्षित रूपमा घरमा बस्न दिनु, खान लाउन दिनु, कुटपिट र गाली बेइज्जत नगर्नु तथा अन्य कुनै प्रकारले दुःख दिने कार्य नगर्नु÷नगराउनु उल्लेख छ । तर त्यसको पालना हुन नसकेको संजिताको दुःखेसो छ । 
आदेश पछि स्थानीय समाजको पहलमा उनलाई गृह प्रवेश गराईए पनि भित्रको कोठामा नराखी आंगनमा रहेको टिनको छानो भएको स्टोर कोठामा उनलाई एकलै राखिएको पाइएको छ । यती मात्र होइन । आफूलाई खान, लाउन समेत नदिए पछि समाज र माइती पक्षबाट प्राप्त खाद्यान्न, भाड़ाकुडा र अन्य सरसामान ल्याएर खाना पकाउने गरेको संजिताले सुनाएकी छिन ।
उनले आफू विरूद्ध झूठो कुरा लगाएर सासु ससुराले श्रीमानलाई भड़काउने र श्रीमान पनि कानेखुशीमा परी आफु संग टाढिएर सम्पर्कविहिन बन्ने गरेको सुनाइन ।
‘‘अरूको नम्बरबाट कल जान्छ, उनले भनिन‘ ‘‘तर मैले फोन गर्दा ब्लकमा राखि दिएकाले कुरा हुँदैन’’। कुनै बेला तिमी संग बिहे नभए आत्महत्या गर्छु भन्ने संदेश अहिले बोली फेर्दै अलपत्र पारेर भागी भागी हिडँने गरेको उनको गुनासो छ’’ । 
संगिताका ससुरा धर्मदेव साह शिक्षण पेशामा संलग्न छन । उनी तेली समुदायको जातिय संगठन तेली समाज सप्तरी निकटको साह शिक्षक–कर्मचारी मिलन केन्द्र सप्तरीका अध्यक्ष समेत हुन ।
 संजितालाई कानूनी सहायता उपलब्ध गराई रहेका कानून व्यवसायी अधिवक्ता हेम नारायण चैधरीले यो घटना महिला हिंसाको पराकाष्ठा भएको बताए । उनले बौद्धिक परिवारका भनाउँदा व्यक्तिहरू बाटै यस्तो असोभनिय घटना हुनु लज्जास्पद र दुःखद कुरा भएको बताए ।
संजिताका बुवा रामेश्वर साहले छोरीलाई सुरक्षित रूपमा घरमा राख्न पाउने व्यवस्थाका लागी सबै संग याचना गरेका छन । उनले यस विषयमा पटक–पटक जातिय संस्था र समाजमा पंचायती बसेर ज्वाँई र उनका आमा बुआलाई सम्झाउने प्रयास भए पनि सहमति विपरीत छोरीलाई दुःख दिने कार्य बन्द नभएको गुनासो गरे’ ।
 उनले यसरी छोरी माथी यातना दिने कार्य जारी रहे पछि आफूहरूले पहिलो पटक २०८२ कार्तिक १९ गते उनीहरू विरूद्ध जिल्ला प्रशासन कार्यालय तथ दोस्रो पटक २०८२ कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन । उनले पनि मांगे जतिको दाइजो नदिएको निहुँमा छोरीलाई यसरी प्रताडि़त गर्न थालिएको दाबी गरे ।  
संजिताका श्रीमान् संदेशले भने उक्त आरोपहरू निराधार भएको दाबी गरेका छन । उनले सुरूमा संजिताबाट राम्रै व्यवहार देखिए पनि पछि गएर परिवर्तन भएको र उनी संग लामो समय सम्म बस्ने अवस्था नदेखिए पछि २०८२ असार ३ गते पर्सा जिल्ला अदालतमा फिराद पत्र दायर गरेको बताएका छन । उनले अंशबण्डा गरी अलग भिन्न भई बस्ने मनसायका साथ उक्त फिराद पत्र दायर गरेको स्पष्ट पारेका छन ।
संगिताकी सासु किरणले छोराले संजिता संग बस्न अस्विकार गरेकाले बुहारीको रूपमा भित्रयाउन समस्या भएको बताएकि छिन । उनले छोराले स्वीकारे आफूले संजितालाई सम्मानपुर्वक बुहारीको रूपमा घर भित्रयाउने स्पष्ट पारेकी छिन ।
प्रहरी नायव उपरीक्षक डम्वर वहादुर पूरीले दुबै पक्षका मान्छे राखेर छलफलबाट विवाद समाधानको प्रयास भई रहेको बताएका छन । समाजिक तथा प्रहरी स्तरबाट समेत समस्या समाधानको प्रयास भई रहेको छ । उनले भने –’ सहमति नगरे कानून बमोजिम अघि बढने छौं ।’