न्यूज टुडे
राजविराज, २९ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी एमालेद्वारा सप्तरीको राजविराजमा शनिवार शुशिला कार्की नेतृत्वको सरकार विरुद्ध बृहत विरोध प्रदर्शन गरेको छ । केन्द्रीय समितिको आवहानमा एमालेले सप्तरीसहित देश व्यापी विरोध प्रदर्शन गरेको हो ।
एमाले जिल्ला कार्यालय मदन नगरबाट ५ सय भन्दा बढी मोटासाइलमा १ हजारभन्दा माथिको जनसहभागितामा निकालिएको र्याली राजदेवी- तेतरीगाछी हुँदै नगरको विभिन्न भाग परिक्रमा गरी सहिद दशना चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला अध्यक्ष ताराकान्त चौधारीको अध्यक्षतामा आयोजित कोण सभालाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले बर्तमान सरकारले चुनाव गर्न नसकेन्ने ठोकुवा गरे । उनले चुनावको नौटन्की नगरी संसद पुनर्स्थापना गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए । उनले कार्की नेतृत्वको सरकार संवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गर्दै प्रतिगामी असंवैधानिक सरकार विरुद्व प्रतिकारमा उत्रन निर्देशन दिए ।
केन्द्रीय सदस्य एबम् मधेश प्रदेशका निवर्तमान गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले बर्तमान कार्की नेतृत्वको सरकारले देशलाई निकास दिन नसक्ने जिकिर गरे । सरकारबाटै संघीय लोकतन्त्रिक गणतन्त्र खतरा रहेको टिप्पणी गर्दै उनले देशलाई विदेशी दलालको हातबाट बचाउन एमाले कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।
उनले वर्तमान सरकारले एमालेसंग प्रतिशोध लिन खोजेको भन्दै आक्रोश व्यक्त गरे । नेता लेखीले एमालेको सहमति विना चुनावको सपना नदेख्न सरकारलाई सुझाव दिदै एमालेलाई पाखा लगाएर अगाडि बढे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
एमालेको केन्द्रीय कार्यक्रम अनुसार सप्तरीमा विशाल प्रदर्शन गरिएको थियो ।