• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गढीया जगा प्रकरण:  अध्यक्षको सिफारिस उल्टाउँदै निमित्त अध्यक्षको अर्कै खेल

गढीया जगा प्रकरण:  अध्यक्षको सिफारिस उल्टाउँदै निमित्त अध्यक्षको अर्कै खेल
न्यूज टुडे
राजविराज, २८ कार्तिक। 
सप्तरीको राजविराज नगरपालीका ९ स्थित गढीयामा रहेको एक जगाको वडा अध्यक्षले दिएको सिफारिस निमित्त वडा अध्यक्षले उल्टाई दिएको खुलासा भएको छ ।  वडाध्यक्ष जबाहार यादवले पुनिता देवी दासको भोगचलन भनी सिफारिस गरेको जग्गा ७ महिना नवित्दै निमित्त वडाध्यक्ष चन्दर यादवले उल्टाएको खुलासा भएको हो । 
पूनिताको छोरा शैलेश कुमार दासले राजविराजमा विहीबार पत्रकार सम्मेलन गर्दै आमाको नाममा रहेको जग्गा विपक्षीको प्रभावमा परी विना आधार प्रमाण निमित्त वडा अध्यक्षले सन्दिप कुमार दासको नाममा अर्को सिफारिस गरी विवाद सिर्जना गरेको बताए। 
वडाध्यक्ष यादवले २०८२ वैशाख १७ गते स्थलगत सर्जमिन मुचुल्का उठाएर मेरो आमाको भोगचलन भनी नापी कार्यालय  सप्तरीलाई सिफारिस गरेको दासले बताए। उनले वडाध्यक्ष देश बाहिर भएको मौका पारेर विपक्षीको प्रभाव र प्रलोभनमा परी विना प्रमाण निमित्त वडाध्यक्ष यादवले सोही जग्गा सन्दिप कुमार दासलाई २०८२ कार्तिक २४ गते नापी कार्यालयलाई  भोगचलन सिफारिस पठाएको भन्दै आपत्ति जनाए।
२००४ सालको नम्बरी २०२२ सालको फाँटबारी साविक मलेठ मौजे गढीया विषहरिया वडा नम्वर ६ को गाउँ ब्लक नम्वर १५ साविक कित्ता नम्बर  क्रमशः ४१३ , ४१४, ४०६,३९८ र ३९९   सर्वे नापी भाई हाल पूनिता देवी दासको नाउँमा रहेको कि. नं  क्रमशः ७५३ को ००४१४.२० कि . नं ७५४ को ००७७९.६० कि नं ७५६ को ०१४९८.०० र कि नं ७६८ को ००२६६.००  वर्ग मीटर क्षेत्रफल रहेको जग्गामा निमित्त वडाध्यक्षले अनावश्यक विवाद खडा गरेको शैलेशको आरोप छ । 
आमाको नाममा २०२० असार १४ गते आआफ्नो अंशियार वीच अंश बन्डा भई २०२२ सालमा ७ नम्वर फाँटबारी गरी हालसम्म  पनि एकलौटी हकभोग, भोगाचन गरेको जग्गा कुनै अरु अंशियारहरुको हकदावी नपुग्ने  तथा भोग समेत नपुग्ने जग्गा काकाको छोरा सन्दिपको भनी सिफारिस गरेर निमित्त वडाध्यक्षले आफूहरु माथि घोर अन्याय गरेको  उनले गुनासो गरे । 
निमित्त वडाध्यक्षले विना सबूत प्रमाणले गरेको सिफारिस बदर गर्नुपर्ने तथा वडाध्यक्षले गरेको सिफारिसको आधारमा जग्गाको भोगचलन गर्नु पाउनु पर्ने दासले माग गरे । आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै उनले न्यायका लागि संचारकर्मीसहित सम्पूर्ण सरोकावाला निकायलाई सहयोग गरिदिन आग्रह गरे । 
निमित्त वडा अध्यक्ष यादवले सबूत प्रमाणकै आधारमा सन्दिपको नाउँमा भोगचनको सिफारिस दिएको दावी गरे । विपक्षीको प्रभावमा पारेको भनी आफूमाथि लगाएको आरोप निराधार रहेको बताउँदै उनले २००४ सालको नम्बरी र ७ नम्वर फाँटबारीको कागज पत्रको आधारमा भोगचलन सिफारिस नापी कार्यालयलाई दिएको जिकिर गरे । 
जग्गा दावी गर्ने सन्दिप शैलेशको काकाको छोरा हुन् । दुवैजनाको बुवा स्वर्गवास भई सकेका छन्।