• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मावि खुरहुरीयाका प्रधनाध्यपक यादवमाथि अनियमितताको आरोप 

मावि खुरहुरीयाका प्रधनाध्यपक यादवमाथि अनियमितताको आरोप 
न्यूज टुडे
राजविराज,२८ कार्तिक। 
सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित रहेको जनता माध्यामीक बिद्यालय खुरहुरियाका प्रधानाध्यापक अशोक कुमार यादवमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । विद्यालयका शिक्षक, लेखा अनुगमन समितिले विद्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रधानाध्यापक यादवमाथि यस्तो आरोप लगाएको हो । 
प्रधानाध्यापक यादवले विद्यालयको विभिन्न शिर्षकको बजेट वेरितले  खर्च गरेको पाइएको लेखा अनुगमन समितिका सदस्य कैलाश यादवले जानकारी दिए । 
आव २०७९/०८० मा ३ लाख ७९ हजार ८ सय ९० २०८१/०८२ मा ५ लाख १३ हजार र अन्य बेरितको खर्च गरि कुल १९ लाख २९ हजार ९ सय ३८ रुपैयाँ हिनामिना गरेको समिति सदस्य यादवले जानकारी दिए ।
प्रधानाध्यापक यादवले आर्थिक अनियमितता गरेको पाइएपछि अभिभावकहरुले विष्णुपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बालराम यादवको संयोजकत्वमा लेखा अनुगमन समिति गठन गरि कारबाही प्रक्रिया अगाडि बढाएको सहायक प्रधानाध्यापक महेश कुमार यादवले बताए । 
समितीले छानबिन सुरु गरि आर्थिक प्रतिवेदन माग गर्दा फरार प्रधानाध्यापक यादव २०८२ असार २० गतेदेखि सम्पर्क विहीन अबस्थामा रहेको उनले बताए । विद्यालयमा महिनौंसम्म  प्रधानाध्यापक यादव हाजिर नभएको तथा त्यसको असर पठनपाठन तथा विद्यालय प्रशासनलाई पर्न गएको बारे माथिल्लो निकायमा जानकारी गराउँदा समेत सुनुवाइ नभएको शिक्षक अभिभावकहरुले गुनासो गरे । 
प्रधानाध्यापक यादवको कार्यशैलीले विद्यालयमा ठूलो हानी नोक्सानी भएको बताउँदै उनीहरुले मावि शिक्षक द्वितीय भुपेन्द्र कुमार साहलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी प्रदान गर्न माग गरे । गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव र वडाध्यक्ष बलराम यादवले संरक्षण दिदै पुनः यादवलाई नै पठाउने षड्यन्त्र भएको आशंका व्यक्त गर्दै उनीहरुले  आर्थिक अनियमितताको आरोप लागेको तथा विद्यालयलाई अस्तव्यस्त बनाउने उनलाई स्वीकार्न नसक्ने स्पष्ट पारे । 
प्रधानाध्यापकको व्यवस्थापन गरि शैक्षिक बाताबरण बनाइदिन गाउँपालिकालाई आग्रह गर्दा  झनै शिक्षक कर्मचारी सरुवा गरि तर्साउने प्रयास गरेको उनीहरुको गुनासो छ । 
विना सूचना लगातार २०८२/०३/२० देखि २०८२ /०५/०४ गतेसम्म  प्रधानाध्यापक अनुपस्थित हुँदा विद्यालय संचालनमा अप्ठ्यारो भइरहेको हुँदा प्रधानाध्यापकको व्यवस्थापन गरिदिन गाउँपालिका कार्यालय, शिक्षा विकास निर्देशनालय मधेस प्रदेश जनकपुरधाम, शिक्षा विकास तथा समन्वय इकाइ सप्तरी राजविराज, राष्ट्रिय शिक्षक किताब खाना (शिक्षक) छाउनी मार्ग काठमाण्डौ, शिक्षा तथा मानवश्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, जिल्ला प्रशासन कार्यालय सप्तरीमा लिखित जानकारी गराउँदा समेत समस्या समाधानमा चासो नदेखाएको उनीहरुले बताए । 
यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८२ असोज २४ गते विष्णुपुर गाउँपालिकाल्लाई पत्राचार गरि प्रधानाध्यापक व्यवस्थापन गर्न भनेपनि हालसम्म गाउँपालिकाले कुनै जानकारी नगराएको पत्रकार सम्मेलनमा सहभागीहरुले बताए । 
विद्यालय संघर्ष समितीका संयोजक प्रेम नारायण यादवले गाउँपालिका र  वडा कार्यालयको गैर जिम्मेवारीपनले विद्यलयमा समस्या आएको बताए । गाउँपालिका अध्यक्ष उमेंश प्रसाद यादव र वडाध्यक्ष बलराम यादवले विद्यालयलाई युद्ध क्ष्रेत्र बनाउन खोजेको उनले आरोप लगाए । 
मावि शिक्षक राम प्रकाश यादवले प्रधानाध्यापक यादवको अनुपस्थितले अग्रेजी विषयको बढाइ प्रभावित भएको बताए । उनले प्रधानाध्यापकको व्यवस्थापन गरि शैक्षिक बाताबरण मिलाइदिन सरोकारवाला पक्षसंग माग गरे ।  
विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले केही उछृंखल समूहले प्रधानाध्यापक यादव माथि आक्रमणको प्रयास गरेको तथा विधालयमा हाजिर हुने अवस्था नरहेको गुनासो गरेपछि गाउँपालिकामा हाजिर गरिएको बताए। आफुले विद्यालयमा समस्या उत्पन्न गराएको भन्ने आरोप निरधार भएको बताउँदै उनले  सरुवा गरिएका केही गाउँका शिक्षकहरु कार्यक्षेत्र नगई  असहज परिस्थिति सिर्जना गराएको बताए । विद्यालयको अवस्था बारे गम्भीर ध्याकर्षण भएको बताउँदै उनले छिट्टै समस्या समाधान गर्ने बताए।
प्रधानाध्यपक यादवले दिनहूँ धाक धम्की, आक्रमणसहितको घटनाले विद्यालयमा हाजिर हुने अवस्था नरहेकाले गाउँपालिकामा आएर हाजिर हुन बाध्य भएको बताए। केही स्वार्थ समूहले अनावश्यक विवाद उत्पन्न गरी विद्यालयको बाताबरण अशान्त बनाएको उनको भनाइ छ । 
विष्णुपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् लेखा अनुगमन समितिका संयोजक बलराम यादवसंग यस बारे  टेलीफोन मार्फत जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन । 
यसअघि अभिभावकहरुले प्रधानाध्यापक यादवलाई  विद्यालय आउने बारबरण बनाइदिन माग गरेका थिए ।  गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवलाई  कार्तिक २३ गते (आईतवार) ज्ञापनपत्र बुझाउँदै स्थानीयबासी तथा अभिभावकहरुले यस्तो माग गरेका हुन्। 
स्थानीय शिक्षकहरु र  उनीहरूबाट परिचालित अभिभावक नभएका केही टोले स्वार्थी, व्यक्तिहरुले प्रधनाध्यपकहरुमाथि विगत देखि नै  गालीगलौज, दुर्व्यवहार लडाइँ झगडा अपमान तथा विभिन्न समस्या उत्पन्न गर्दा विद्यालयमा प्रधनाध्यपक अशोक कुमार यादव बस्ने बाताबरण असहज रहेको उनीहरूले बुझाएको ज्ञापनपत्र उल्लेख छ। कपोकल्पित झुठो आरोप लगाउने, मोबाइल खोज्ने, हाजिरी रजिष्टर खोस्ने जतिबेला पनि विद्यालय पसेर धाक धम्की दिने जस्ता अमानवीय क्रियाकलापले प्रधानाध्यापक विद्यालय आउन नसकेको भन्दै अभिभावकहरुले सुरक्षासहित विद्यालय आउने बाताबरण मिलाई दिन माग गरेका  थिए। 
निजी बिद्यालय खोलेकाहरुले प्रधानाध्यापक यादवलाई कामकाज गर्न नदिई हाजिर गर्न नदिएको, प्रधानाध्यपकको कार्यकक्षमा ताल्चा  लगाउन उक्साउने प्रअ परिपर्तनको माग राख्ने जस्ता क्रियकलापले विद्यालय अस्थिर बनेको आरोप लगाउँदै उनीहरूले यादवको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगडि बढाउन माग गरेका थिए। 
स्थानीय शिक्षक र टोले स्वार्थ समुहलाई अविलम्व कारबाही गरी  प्रधानाध्यापाक यादवलाई सुरक्षा सहित विद्यालयमा हाजिर गराई व्यवस्थापन समिति गठनमा खटाउन ज्ञापनपत्रमा जोडदार माग गरिएको थियो ।
अभिभावकहरुले बुझाएको ज्ञापनपात्रमा शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको थियो ।