• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सीमा अपराध तथा चोरी तस्करी नियन्त्रणका लागि  सरोकारबालासंग सुझाव संकलन

सीमा अपराध तथा चोरी तस्करी नियन्त्रणका लागि  सरोकारबालासंग सुझाव संकलन
न्यूज टुडे 
राजविराज, २७  कार्तिक ।
सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीले सीमा अपराध तथा चोरी तस्करी नियन्त्रणका लागि  सरोकारबालासंग सुझाव मागेका छन् । सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराज स्थित कार्यालयमा बिहिवार  आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो सुझाव मागिएको हो । 
कार्यक्रममा सप्तरीसंग जोडिएको नेपाल–भारत सीमाका अधिकांश सीमास्तम्भ गायव  भएको तथ्यांक सार्वजनिक गरिएको थियो । 
कार्यक्रमका  प्रमुख अतिथि  २ नम्बर  सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अशोक कुमार बमले दशगाजा क्षेत्रबाट भाँचेका, बाढीले बगाएका र हराएका सीमास्तम्भहरु पुनर्निमाण र मरमतका लागि आफूहरुले विभाग मार्फत पहल थालेको र छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।   अपराध नियन्त्रणका लागि आफूहरुसंग उपलब्ध सिमित साधन स्रोतले मात्र सम्भव नरहेको भन्दै उनले यसकार्यमा सबै सरोकारबालाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
भारतीय पक्षबाट नेपाली भुभागमा भएको अतिक्रमण विभिन्न समयमा भारतीय सशस्त्र सीमाबल (एसएसबी) बाट नेपालीहरुसंग दुव्र्यवहार हुने गरेको भन्न्ने सहभागी वक्ताहरुको गुनासाको जवाफ दिदै उनले यस विषयमा समेत आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यासशस्त्रलय महोत्तरीको समन्वयमा  आयोजित कार्यक्रममा भारतीय सीमासंग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिकि अगुवा तथा सञ्चारकर्मीहरु तथा सीमा सहजीकरण समितिका पदाधिकारीहरु सहभागी थिए । 
सप्तरीका १८ मध्ये ७ पालिका भारतीय सीमा संग जोडिएको छ । ती मध्ये ५ पालिकाका प्रमुख र वडाध्यक्ष तथा सरोकारबालाको सहभागितामा आयोजित कार्यक्रममा स्वागत गर्दै सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन वुढाथोकीले नेपाल–भारत सीमा अन्तर्गत सप्तरीका दशगाजा क्षेत्रमा ६४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा अहिले १७० वटा मात्र रहेको बताए ।कायम रहेका कतिपय सीमास्तम्भ पनि जिर्ण अवस्थामा रहेकाले मर्मत गर्नुपर्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
उनले दशगजा क्षेत्रमा कतिपय पिलर भाँचेको, बाढीले बगाएको तथा हराएको पाइएकाले आवश्यक बजेटको व्यवस्थापन गरी साविककै ठाउँमा नयाँ सीमास्तम्भ राख्ने पहल थालिएको बताए ।
दुबै देशका प्राविधिक टोलीको सहमतिमा मात्र यसरी सीमास्तभ राख्न सकिने समझौता भएकाले सोका लागि पनि पहल थालिएको उनले बताए  । उनले सीमा अपराध नियन्त्रणका लागि भारतीय सीमासंग जोडिएका सबै पालिकामा स्थानिय जनप्रतिनिधि र समाजका अगुवालाई समेटेर सीमा सहजिकरण समिति गठन गरिएको जानकारी पनि दिए ।
सीमा अपराध नियन्त्रण, सीमासुरक्षाको महत्व र सीमाबासीको समस्याको पहिचान तथा सुझाव संकलन गरी आवश्यक रणनीति बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका सहभागी वक्ताहरुले दशगजा क्षेत्रमा गायव भएका सीमास्तम्भको पुनर्निमाणमा जोड दिनुका साथै चोरी तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण तथा लामो समय देखि बन्द रहेका सप्तरीका छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
छोटी भन्सार कार्यालयहरु सञ्चालनमा आउन नसक्दा सीमानाकाबाट भंसार छली तथा चोरी तस्करी मौलाउनुका साथै राजस्व  कम उठ्न थालेको उनीहरुको तर्क थियो ।
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, विभिन्न वडाका वडाध्यक्ष तथा सञ्चारकर्मीहरुले सीमाक्षेत्रका विभिन्न समस्या उठान गर्दै आ–आफ्नो सुझाव राखेका थिए ।