न्यूज टुडे
राजविराज,२७ कार्तिक।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले तलवभत्ता पाउने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले तलवभत्ता निकासाको सहमति गाउँपालिकालाई दिएपछी चार महिना सम्म रोकिएको तलवभत्ता शिक्षक कर्मचारीले पाउने भएको हो ।
कार्यबाहक अध्यक्ष। कल्पना कुमारी चौधारीको अध्यक्षतामा कार्तिक २४ गते सम्पन्न विशेष परिषदबाट शिक्षक कर्मचारीलाई तलवभत्ता खुवाउने निर्णय गरिएको वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्यले बताए।
परिषदको निर्णय अनुसार कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधारीले प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवलाई बजेट निकासाको अख्तियारी दिएपछि विहीबार कोष तथा लेखा नियन्त्रक कार्यालयले गाँपालिकाको खातामा बजेट निकासा दिएको उनले बताए।
उनका अनुसार विहीबारदेखि नै विद्यालय, स्वास्थ्य संस्थासहित कर्मचारीहरुको खातामा तलवभत्ता पठाउने कार्य सुरु गरिएको छ । निकै मिहिनेत र प्रयासले बल्ल कर्मचारीहरुलाई तलवभत्ता खुवाउन सफल भएको उनले वताए।
निवर्तमान गाउँपालिका अध्यक्ष दिननाथ चौधारीले अख्तियारी नदिँदा तलवभत्ता निकासा हुन सकेको थिएन’ वडाध्यक्ष आचार्यले भने, हामीले वहाबाटै अख्तियारीका लागि निकै कोशिश गर्यौ तर मान्नु भएन, अध्यक्षको राजीनामा पछि कार्यबाहक अध्यक्षले अख्तियारी दिएपछि कर्मचारीहरूले तलवभत्ता पाउने सुनिश्चित भयो ।’
उनले निवर्तमान अध्यक्षको हठले चारमहिना देखि कर्मचारीहरु तलवभत्ताबाट वञ्चित हुनु परेको भन्दै उनकै कारण सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी र सम्पूर्ण गाउँपालिका बदनाम भएको बताए ।
गाउँपालिकाले पाँचदिन भित्र तलवभत्ता उपलब्ध गराउने आश्वासनपछि बुधबार ९ दिनदेखिको जारी आन्दोलन स्थगित गरिएको थियो ।
कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधारी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले आन्दोलनरत शिक्षक कर्मचारीलाई भेटेर पाँच दिन भित्र तलवभत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।
कार्तिक ३० गतेभित्र विद्यालयको खातामा तलवभत्ता पठाउने र आन्दोलन स्थगित गरी बिहीबार देखी विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालय पूर्ववत संचालनमा ल्याउने गाउँपालिका र आन्दोलनरत पक्ष वीच सहमति भएको थियो ।
सहमति पत्रमा कार्यबाहक अध्यक्ष चौधारी, प्रमुख प्रशासकीय अधिकृत यादव, विभिन्न वडाका वडाध्यक्षहरु र आन्दोलनरत पक्षबाट संघर्ष समितिका संयोजक दुःखन यादव तथा सदस्यहरुले हस्ताक्षर गरेका छन्।
दुईपक्षीय सहमति पछि ९ दिन देखि तलबभत्ता माग गर्दै आन्दोलनरत शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु काममा फर्किएका थिए। शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्य क्षेत्र छोडेर गाउँपालिका अगाडि धर्ना दिएपछि गाउँपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयबाट दिइने सेवा पूर्ण रूपले प्रभावित भएको थियो ।
यसैगरी अध्यक्ष दिनानाथ चौधारीको राजीनामा स्वीकृत गरिएको बारे गाउँपालिकासहित विपक्षीलाई विहीबार परमादेशयुक्त उत्प्रेषण जारी गरिएको छ । उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायधीश सुभाष पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो ।
यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने, माग बमोजिमका आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
निवेदकको माग अनुसार अन्तरिम आदेशका लागि दुबैपक्षका कुरा सुनि जारी हुने वा नहुने सम्बन्धमा निष्कर्षमा पुग्न मंसिर १ गते पेशी तोकिएको छ । निवेदकसंग सम्वन्धित निर्णय सहित सक्कलै प्रमाण कागज पत्र समेत छलफलमा उपस्थित हुन विपक्षीलाई आदेश गरिएको छ ।