न्यूज टुडे
राजविराज,२६ कार्तिक।
गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्व संघर्ष समितिद्वारा संचालित जागरण सभा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ बनौली बजारमा आयोजना गरिएको छ । जनप्रतिनिधिहरुको राजीनामासहित विभिन्न माग सार्दै समितिद्वारा संचालित जागरण सभा बुधबार बनौली बजारमा आयोजना गरिएको हो ।
सभालाई सम्बोधन गर्दै वक्ताहरुले गाउँपालिकामा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरी सबै प्रकारको बेथिति विसंगति निरूपण नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । जनप्रतिनिधि तथा कर्मचारीहरुलको मिलोमतोमा अनावश्यक बजेट दुरुपयोग गरेको आरोप लगाउँदै वक्ताहरुले संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरा ल्याउनुपर्नेमा जोड दिए ।
संघर्ष समितिका सल्लाहकार रामदेव यादवको अध्यक्षतामा आयोजित जागरण सभालाई प्रवक्ता तुलसी थारु,ललित यादव लगायतकाले सम्बोधन गरेका थिए ।
कार्यक्रम सञ्चालन समितिका साह सचिब शैलेन्द्र गामीले गरेका थिए ।
संघर्ष समितिले गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सम्पर्क कार्यालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी महिनौं देखि आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।