न्यूज टुडे
राजविराज,२६ कार्तिक।
नेपालको कानूनले महिला- पुरूष दुवैलाई समान अधिकार दिएपनि मधेशी मूलका महिलाहरु सार्वजनिक भोजहरुमा विरलै सहभागी हुने गरेको पाइन्छ। महिलाले सार्वजनिक भोजमा सहभागी हुनु हुँदैन भन्ने कठीत सामाजिक मूल्य मान्यताका कारण महिलाहरु भोजभतेरमा सहभागी हुनबाट वञ्चित हुने गरेका थिए। तर अब हलुवाई समाजका महिलाहरु भने सार्वजनिक भोजभतेरमा पुरुषससंगै सहभागी हुन पाउने भएका छन्।

हलुवाई समाज नेपालले हलुवाई समाजका महिलाहरु पुरुषसँगै वा पुरुषको अनुपस्थितिमा निम्तो मान्न सहभागी भएर भोजभतेर खान पाउने घोषणा गरेको छ । स्वर्गिय गायत्री देवी साह हलुवाईको १३औं दिनको पुण्य तिथिको अवसरमा सप्तरीको रूपनी गाउँपालिका ३ स्थित कटैयामा बुधबार आयोजित श्रादाञ्जली सभामा हलुवाई समाजका महिलाहरु सार्वजनिक भोजभतेरमा सहभागी हुन पाउने घोषणा गरिएको हो ।
हलुवाई समाजका देवान राजु साहको अध्यक्षता तथा केन्द्रीय महासचिव शिवजी साहको प्रमुख आतिथ्यमा आयोजित श्रद्धाञ्जी सभामा घोषणा पछी महिलाहरुलाई पुरूष सँगै सामूहिक भोजनमा सहभागीताको लागि आग्रह गरिएको थियो । विभिन्न जिल्लाका हलुवाई समाजका अगुवा तथा अन्य जातजािहरुका पदाधिकारी सहभागी भोजमा महिला पुरूष सँगै बसेर भोजन गरिएको थियो । सामूहिक भोजमा सहभागी महिलाहरु निकै उत्साहित देखिएका थिए ।
श्रदाञ्जली सभामा सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, आम संचार प्राधिकरण मधेश प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादवले हलुवाई समाजले सामाजिक बन्धन तोड्दै गरेको घोषणाको प्रसंशा गरे । उनीहरूले बर्तमान परिवर्तित अवस्थामा समयको माग अनुसार समाजलाई रूपान्तरण गरेको भन्दै खुशी व्यक्त गरे । स्वर्गिय गायत्री देवी साह हलुवाईको आत्माको चिरशान्तिको कामना गर्दै उनीहरुले शोकाकुल परिवारप्रति समवेदना समेत व्यक्त गरे ।
कार्यक्रममा हलुवाई समाज नेपाल मधेश प्रदेश अध्यक्ष राम शंकर साह, सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर साह, सिरहा अध्यक्ष भारत साह, धनुषा अध्यक्ष उमेश साह, राजधोव समाजका केन्द्रीय सभापति भिखो माझी लगायतकाले बोल्दै महिलाले सामूहिक भोजन गर्न पाउने घोषणाले महिला पुरूष बराबरी हक अधिकार प्राप्तिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न जाति तथा संस्थाद्वारा स्वर्गिय गायत्री देवी साहको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई श्रदाञ्जली पत्र प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन हलुवाई समाज नेपाल सप्तरीका सचिव भगावानी साहले गरेका थिए ।
२०२८ सालमा जन्मिएकी साहको कार्तिक १४ गते ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको १३ औं दिनको पुण्यतिथिको अवसरमा आयोजित १५ हजार भन्दा बढी सहभागी शान्ति भोजमा हलुवाई समाजका महिलाहरु पहिलो पटक पुरुषसँगै बसेर भोजन गरेको स्वर्गीय साहका भतिजा समेत रहेका समाजका संस्थापक महासचिव महेश प्रसाद साहले जानकरी दिए ।