• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरका शिक्षक कर्मचारीको आन्दोलन चर्कियो :  तलवभत्ता माग गर्दै बृहत प्रदर्शन 

अग्नीसाइरका शिक्षक कर्मचारीको आन्दोलन चर्कियो :  तलवभत्ता माग गर्दै बृहत प्रदर्शन 
न्यूज टुडे
राजविराज,२६ कार्तिक। 
तलव भत्ता माग गर्दै आन्दोलनरत सप्तरीको अग्नीसाइर कृष्णसारन गाउँपालिकाका शिक्षक, स्वास्थकर्मी कर्मचारीहरुको आन्दोलनले दिनप्रतिदिन उग्ररुप लिन थालेको छ ।  विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयसहितका सम्पूर्ण कार्यालयहरु एकहप्तादेखि ठप्प पारी गाउँपालिका कार्यालय  अगाडि धर्ना बसेका उनीहरुले बुधबार बृहत र्‍याली प्रदर्शन गरेका हुन् ।
तलवभत्ता माग गर्दै गाउँपालिका अगाडि धर्ना बसेका शिक्षक स्वास्थ्यकर्मी तथा कर्मचारी। फोटो: न्यूज टुडे
‘तलवभत्ता निकासा गर, शिक्षक स्वास्थ्यकर्मी कर्मचारी एकता जिन्दावाद,राष्ट्रसेवक कर्मचारी एक हऔं, हाम्रो आन्दोलन जारी छ’ लगायतका नारा लगाउँदै गाउँपालिका अगाडिबाट निकालिएको र्‍याली विशाल चौक परिक्रमा गरि पुन: गाउँपालिका अगाडि आएर कोणसभा आयोजना गरिएको थियो । 
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले तलवभत्ता नपाएसम्म आन्दोलन जारी राख्ने बताए । आफ्नो पारिश्रमिक उपलब्ध नभएसम्म संघर्षका कार्यक्रमबाट पछि नहट्ने जिकिर गर्दै बक्ताहरुले शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 
संघर्ष समितिका संयोजक दुखन यादवले पटकपटक गाउँपालिकाले धोका दिएकोले कर्मचारीको खातामा तलब भत्ता नआएसम्म आन्दोलन नरोक्ने बताए ।
शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरु आफ्ना कार्यक्षेत्र छोडेर आन्दोलनमा उत्रिएपछि गाउँपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरु ९ दिनदेखि ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले कर्मचारीहरुको समस्या समाधानमा गम्भीर भएको बताएकी छन्।  कानूनी प्रक्रिया पुरा गरि कर्मचारीहरुको तत्लवभत्ता, सामाजिक सुरक्षा भत्ता तथा विभिन्न सम्पन्न योजनाहरुको भुक्तानी कार्य चाँडै गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र कुमार यादवसहित आन्दोलनरत शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई भेटेर माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन स्थगित गरी कामकाजमा फर्कन आग्रह गरिन् ।
बिहीबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत  यादवले १० दिन भित्र सबै माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गर्न आग्रह गरे । 
यस अघि संघर्ष समितिले सोमबार प्रमुख प्रशासकीय अधिकृत  रमेश कुमार चौधरीलाई ज्ञापनपत्र बुझाउँदै अविलम्व तलवभत्ता उपलब्ध गराउन माग गरेका थिए । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले तलवभत्ता उपलब्ध गराउने भनि प्रतिबद्धता जनाएपनि धोका दिएकोले कार्तिक १८ गतेदेखि गाउँपालिकासहित मातहत सम्पूर्ण कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्थाबाट दिइने सेवा सुविधा अनिश्चितकालिन बन्द गरी  गाउँपालिका कार्यालय अगाडि हस्ताक्षर संकलन गरी धर्ना बस्ने ज्ञापनपत्रमा चेतावानी दिइएको छ। 
यसअघि असोज ९ गते गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयमा गरिएको ताला गाउँपालिका अध्यक्ष चौधारीले कार्तिक १५ भित्र उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्तिक ०२ गते ताला खोलिएको भएपनि अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउँदा तलवभत्ता पाउने सुनिश्चितता नभएको ज्ञापनपत्रमा उल्लेख छ ।