न्यूज टुडे
राजविराज, २५ कार्तिक ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल तोडफोडको आरोपमा चारजना पक्राउ परेका छन् । राजविराज नगरपालिका ४ बस्ने बर्ष २४ को उदय ठाकुर,बर्ष २४ का विनित चौहान,विष्णुपुर गापा ६ बस्ने ५० बर्षिय प्रमेश्वर यादव र बर्ष २५ को रमन यादव पक्राउ परेका हुन् ।
उनीहरुमथि अस्पताल तोडफोड र आगजनी गरेको आरोप लागेको छ । उनीहरूलाई तत्काललै पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
अस्पतालमा भर्ना भएका एक नवजात शिशु आइस्यूमा राखी तापक्रम दिइरहेको अवस्थामा सोही कोठाको सिलिङको बत्तीमा अचनक आगो लागि बल्ब शिशु राखेको म्याटमा झरी घाइते भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।
शिशुका आफन्त तथा स्थानीयले घटनाको विरोध गर्दै अस्पतालमा तोडफोड तथा आगजनी गरेका थिए । सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै जनालाई सार्वजनिक अस्पतालमा तोडफोड गर्न खोज्ने अपराधिक उपद्रो गरेको कसुरमा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
घाइते शिशुलाई तत्कालै थप उपचारको लागि विराटनगर पठाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए । शिशुको विराटनगर स्थित सिटी अस्पतालमा उपचार भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी पुरीले जानकारी दिए ।
यसैगरी अस्पतालमा तोडफोड तथा आगजनीमा संलग्नहरुलाई कडाकारबाहीको माग गर्दै अस्पताल प्रशासनले आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा ठप्प पारेको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कामकाज गर्न असुरक्षित भएको भन्दै विरोधमा उत्रिएपछि अस्पतालबाट दिइने सेवा ठप्प छन् । ।
यता पक्राउ परेकाहरुले आफुहरु अस्पताल तोडफोड तथा आगजनीमा संलग्न नभएको दावी गरेका छन् । नवजात शिशु घाइते भएपछि आफन्तले अस्पतालमा नारा जुलुस गर्न थालेपछि हेर्न गएको बेला प्रहरीले आफुहरुलाई नियन्त्रणमा लिएर दुख दिएको उनीहरुको आरोप छ ।
यसैवीच सोमबार जिल्ला स्तरीय टोलीको अस्पतालमा भएको तोडफोड, आगजनी र शिशुको अवस्था बारे स्थलगत निरीक्षण गरि जानकारी लिएका थिए ।
जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिवनारायण साह नेतृत्वमा उपसभापति शम्भु कुमार यादव, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरीक्षक गौतम कुमार केसी,, सशस्त्र प्रहरी उपरीक्षक, अनुशासन प्रमुख लगायतका सरोकारवालाहरुले घटना बारे जानकारी लिएका थिए ।