न्यूज टुडे
राजविराज,२४ कार्तिक।
मधेस प्रदेशका पूर्व अर्थमन्त्री एबम् जसापा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले होटलमा बनेको सरकार स्वीकार्य नसक्ने बताएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आईतबार राति गैरकानूनी होटलमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेता साहले आपत्ति जनाएका हुन्।
प्रदेश प्रमुख भण्डारीको कदम कानून विपरीत भएको दावी गर्दै उनले यसले मधेश प्रदेशको अस्मिता माथि प्रहार गरेको टिप्पणी गरे ।
‘स्वास्थ्य उपचारको नाममा प्रदेश बाहिर निस्किएकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुल्ला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठनको खेल खेलेकी छिन् ‘ प्रदेश प्रमुखको चर्को आलोचना गर्दै उनले सामाजिक संजालमा लेखेका छन्,’मुख्यमन्त्रीसँग राति ४ बजे विदा लिएर उपचारका लागि हिँडेकी भनिएकी प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई सपथ दिलाउँदै संविधान र प्रदेशको अस्मिताको चीरहरण गरेकी छन् ।’
नेता साहले मधेश र मधेशी समुदायको आत्मासम्मान ठेस पुगेको उल्लेख गर्दै अविलम्व निर्णय सच्याउन आग्रह गरेको छ ।
‘यस घटनाले नकेवल संविधान र संघीयताको अपमान गरेको छ, बल्की मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा ठेस पुर्याएको छ’ उनले लेखेका छन्, ‘यस्तोघृणित र गैरसंवैधानिक कार्यको जसपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।’
संघीयता र मधेशी जनताको अस्मिता जोगाउन जस्तोसुकै पनि मुल्या चुकाउन तयार रहेको बताउँदै उनले प्रदेश प्रमुखको गैरसंवैधानिक कदम विरुद्व एकताबद्व भएर आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।
‘हामी स्पष्ट रूपमा भन्छौं,होटलमा बनेको सरकार स्वीकार्य छैन:-संविधानको खिल्ली उडाउनेहरूलाई जनताले माफ गर्ने छैनन् ! अव सबै मिलेर संघीयता जोगाऔँ, मधेशको अस्मिता बचाऔँ।’ उनले सामाजिक सञ्जाल लेखेका छन् ।