• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेस प्रदेश सभामा भएको हंगमा संघीयता कमजोर पार्ने योजनाबद्ध षड्यन्त्र हो’:पूर्व अर्थमन्त्री साह 

मधेस प्रदेश सभामा भएको हंगमा संघीयता कमजोर पार्ने योजनाबद्ध षड्यन्त्र हो’:पूर्व अर्थमन्त्री साह 
न्यूज टुडे
राजविराज,२३ कार्तिक । 
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिब एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस प्रदेश सभामा शनिबार भएको हंगामा संघीयता कमजोर पार्ने र मधेशको अधिकारमाथि प्रहार गर्ने एक योजनाबद्ध षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।  मधेस प्रदेश सभामा मुख्यमन्त्री जितेन्द्र सोनालले दिएको राजिनामा पछि आइतबार सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 
उनले मधेस प्रदेश सभामा भएको चलखेललाई असाधारण घटनाको रुपमा लिएका छन् । 
‎’मधेश प्रदेशमा पछिल्ला केही महिनादेखि देखा परेको राजनीतिक अस्थिरता कुनै सामान्य घटना होइन’ उनले भनेका छन् , ‘यो केवल दलगत प्रतिस्पर्धा वा सत्ताको खेल होइन, बरु संघीयता कमजोर पार्ने र मधेशको अधिकारमाथि प्रहार गर्ने एक योजनाबद्ध रणनीति हो।’
मन्त्री साहले विभिन्न कठोर आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने नाङ्गो षड्यन्त्र भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 
‎’संघीयता प्राप्त गर्न मधेशले झेल्नुपरेको आन्दोलन, बलिदान र संघर्ष हाम्रो सामूहिक स्मृतिमा अझै ताजा छ । दशकौंको अन्याय, विभेद र उपेक्षापछि मधेशले आफ्नो पहिचानको मान्यता र अधिकारको सुनिश्चितता संघीय संरचनाबाट खोजेको हो।’ उनले भनेका छन् , ‘ तर आज त्यही संरचना र पहिचानमाथि प्रश्न उठाउने, प्रदेश सरकार अस्थिर पार्ने, र जनताको विश्वास कमजोर बनाउने खेल खुलेआम खेलिँदैछ।”
‎राजनीतिक अस्थिरता केवल सत्ताको संकट होइन — यो जनताको आत्मविश्वासमाथिको आक्रमण हो भन्दै उनले  जब सरकार अस्थिर हुन्छ, नीति कार्यान्वयनमा ढिलाइ हुन्छ, विकासका योजना ठप्प पर्छन्, र जनताको भरोसा हराउँछ। यस्तो अवस्था संघीयताको विरोधी शक्तिहरूका लागि अवसरका रूपमा देखा पर्ने बताए । 
पछिल्लो दुषित गतिविधिले प्रदेश सभालाई प्रभावित पारी भएको राजनीति अस्थिरताले “प्रदेश सरकार असक्षम छ” भन्ने प्रचारमार्फत पुनः केन्द्रीयकरणको बाटो खोल्न खोजिरहेको पूर्व मन्त्री साहको आरोप छ । 
‎”तर हामीले बुझनु के पर्छ भने संघीयता कसैले  दानमा दिएकाे  होइन, यो संघर्षबाट प्राप्त गरीएकाे अधिकार हो।”  उनले लेखेका छन् ,’मधेशको पहिचान, समानुपातिक सहभागिता, र स्वशासनको ग्यारेन्टी हो। यसलाई जोगाउनु  मधेश मात्रकाे  होइन सम्पूर्ण देशको लोकतान्त्रिक भविष्य सुरक्षित गर्नु हो।’
‎अब समय मौन बस्ने होइन, सचेत हुने र एकजुट हुनुपर्ने बताउँदै उनले संघीयता र समावेशी लोकतन्त्रका पक्षधर सबै दल, जनप्रतिनिधि, नागरिक समाज र सचेत युवाले मिलेर यो षड्यन्त्रको प्रतिवाद गर्नु पर्नेमा जोड दिएका छन् ।
उनले राजनीतिक उपलब्धि रक्षा गर्ने जिम्मेवारी प्रदेश सभा सदस्यहरुको काँधमा आएको उल्लेख गर्दै उनले यसका लागि एकजुट हुनु अपरिहार्य भएको बताए  । 
‎’प्रदेश सभा सदस्यज्यूहरूलाई विशेष जिम्मेवारीको क्षण आएको छ’ उनले भने, ‘जसरी प्रदेश नामाङ्कनको समयमा हामी सबैले एकजुटताको अद्भुत उदाहरण प्रस्तुत गरेका थियौं, अहिले पनि त्यस्तै ऐक्यबद्धताको प्रदर्शन आवश्यक छ।’
 राजनीतिक स्थायित्व केवल सरकार बाँच्ने सवाल होइन, भन्दै पूर्व अर्थमन्त्री साहले यो मधेशको स्वाभिमान र भविष्यको प्रश्न भन्दै सबैलाई संयमित हुन आग्रह गरेका छन् ।