रामनाथ चौधारी
महुली,२० कार्तिक।
अग्नीसाइर कृष्णसवान गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा धीरेन्द्र कुमार यादव हाजिर भएका छन्। विहीबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवलाई अध्यक्ष र कार्यवहाक अध्यक्षले छुट्टाछुट्टै स्वागत गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई यादव अग्नीसाईर कृष्णसवान गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका छन्। यादवको हाजिर पछी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विवाद समाधान भएको छ ।
यादवलाई राजीनामा दिएका अध्यक्ष दिनानाथ चौधारीले छुट्टै स्वागत गरेका छन् भने कार्यवहाक अध्यक्ष कल्पना कुमारी चौधरीसहित ६ वटै वडाका वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले छुट्टै स्वागत गरे ।
कार्यबाहक अध्यक्ष चौधारी नेतृत्वमा वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफा, २ का पशुपति प्रसाद चौधारी, वडा नम्बर ३ का वडाध्यक्ष गोपल प्रसाद चौधारी, ४ का वडाध्यक्ष तेज नारायण यादव, ६ का वडाध्यक्ष अशोक कुमार आचार्य र वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष गया प्रसाद चौधरी लगायतका कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, कर्मचारीले स्वागत गरेका थिए ।
अध्यक्षको राजीनामा कार्यपालिका बाट स्वीकृत गरी उपाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएपछि जनप्रतिनिधि वीचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष चौधारी र अन्य जनप्रतिनिधि वीचको दूरी थप बढ्दै गएको यसबाट सहजै अनुमान गर्न सकिन्छ।
हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवले विवादको वीच आफू हाजिर भएकोले अध्यक्ष तथा कार्यबाहक अध्यक्ष बारेको अन्योल छिटै टुंग्याउने बताए। उनले कागज पत्र अध्यान गरेर मात्रै अध्यक्ष बारे आधिकारिक धारणा बनाउने प्रतिबद्धता व्यक्त गरे ।