• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रअ यादवलाई कारबाहीको माग

जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रअ यादवलाई कारबाहीको माग
न्यूज टुडे
राजविराज, १७ कार्तिक । 
करिब चार महिनादेखि प्रधानाध्यापकको अनुपस्थितिका कारण सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाको पठन–पाठन प्रभावित रहेको भन्दै सङ्घर्ष समितिले सोमबार पालिकाको ध्यानाकर्षण गराएको  छ । स्थानीय अभिभावक समेतको सहभागितामा गठित सङ्घर्ष समितिका संयोजक प्रेमनारायण यादवको नेतृत्वमा समस्या समाधानका लागि पाँच दिने अल्टिमेटम सहितको ध्यानाकर्षण–पत्र बुझाइएको हो । 
पालिकाका प्रशासकीय प्रमुख उज्ज्वल आनन्दलाई ध्यानाकर्षण–पत्र बुझाउँदै समितिले पाँच दिनभित्र नयाँ प्रधानाध्यापकको व्यवस्थापन गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।
प्रधानाध्यापक अशोक कुमार यादवले कुशलतापूर्वक विद्यालय सञ्चालन गर्न नसकेको भन्दै  चालु शैक्षिक सत्रमा ६ महिनासम्म रुटिन समेत बनाउन नसकेको, आयव्यय सार्वजनिक नगरेको, अभिभावकद्वारा गठित लेखा समितिलाई अधुरो हरहिसाब दिएकोमा प्र.अ. यादवले अनियमितता  गरेको तथ्य फेला परेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । लेखा समितिलाई उपलब्ध गराएको रेकर्ड अनुसार पाठ्यपुस्तक, छात्रवृत्ति, ओजेटी रकम वितरणको भर्पाई समेत उपलब्ध नगराएको जनाइएको छ । 
ध्यानाकर्षणपत्रमा जनाइए अनुसार प्रिन्टर खरिद, कुत बालीको भर्पाई, सर्टिफिकेट वापतको आम्दानीको भर्पाइ समितिले माग गरेपछि २०८२ असार २० गतेदेखि हालसम्म विद्यालयबाट फरार रहेका छन् । प्रधानाध्यापक यादवलाई पदच्युत गरी नयाँ प्रधानाध्यापक व्यवस्था मिलाई विद्यालयमा पठनपाठनको वातावरण बनाउन माग गरिएको छ ।  
 Nपात्रमा उक्त समयभित्र समस्या समाधान नभए कडा सघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत समितिले दिएको छ ।  ध्यानाकर्षणपत्र बुझ्दै पालिकाका प्रशासकीय प्रमुख उज्जवल आनन्दले जनता माध्यमिक विद्यालयको समस्या अविलम्ब समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।