रामनाथ चौधरी
महुली,१५ कार्तिक ।
‘प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी’ महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनचेतना माविको खेल मैदानमा शनिबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्गलाई २-३ गोलले पराजित गर्दै सप्तरी फइनल प्रवेश गरेको हो ।
निर्धारित ६० औ मिनेटको खेल अवधिमा सप्तरीले खेलको पहिलो हापको नबौ मिनेटमा पलान्टीको मौकालाई जर्सी नम्बर ७ का युगेन कार्कीले गोलमा परिणत गर्दै टिमलाई अगाडी बढाए । पहिलो हापको १५ औं मिनेटमा मोरङ्गका जर्सी नम्बर १४ का हरि खवासले १ गोल गरेर टिमलाई बराबरीमा पुर्याए । पहिलो हापकै १९ औ मिनेटमा सप्तरीले पुनः दोश्रो प्लान्टीको मौकालाई जर्सी नम्बर ७ कै कार्कीले गोल गरेपछि ओद्राहा सप्तरीले १-२ गोलको जित कायमै राखे ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको दोश्रो हापको २१ औ मिनेटमा मोरङ्गका जर्सी नम्बर १४ कै खवासले गोल गरि टिमलाई बराबरीमा ल्याउन सफल भए भने खेलको २७ औं मिनेटमा सप्तरीका जर्सी नम्बर ७ कै कार्कीले टिमको तर्फबाट तेस्रो गोल थपेपछि सप्तरी २-३ गोलले विजयी भएको प्रमुख रेफ्री मोहन चौधरीले बताए।
शनिबारको खेलमा ओद्राहा सप्तरीका जर्सी नम्बर ७ का कार्की म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद १ हजारसहित च्याम्पियन शिल्डबाट सम्मान गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत आइतबार फाइनल खेल झुम्का फुटबल क्लब झुम्का सुनसरी र प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी वीच हुने आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले बताए । झुम्काले अल्टोकी रौतहटलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
यसअघि १ बजेदेखि धनगढीमाई सिरहा र मलिथम फुटबल क्लब उदयपुर वीच महिला फुटबल खेलाडीहरु वीच मैत्रीपुर्ण खेल हुने अध्यक्ष चौधरीले बताए । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिए ।
पूर्वी नेपालकै सबैभन्दा महत्त्वपूर्ण तथा ख्याति प्राप्त प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दिलिप कुमार चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने उनले बताए।
२०३८ सालदेखि निरन्तर जारी प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।