न्यूज टुडे
राजविराज,१३ कार्तिक।
जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सभा सदस्य किरण कुमारी साहले आफ्नो सासु – ससुराले अरूको उक्साहटमा आफूहरुमाथि निरधार आरोप लगाएर चरित्र हत्या गरेको आरोप लगाएकी छिन्। नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा बिहीवार पत्रकार सम्मेलन गर्दै उनले यस्ताे आरोप लगाएका हुन्।
श्रीमान् ईन्जिनियर विनोद कुमार साहसहित पत्रकार सम्मेलनमा सहभागी भएकी उनले सामाजिक सञ्जालमा ससुरा देव नारायण साह र सासु शान्ति देवी साहले सार्वजनिक गरेको अभिव्यक्त प्रति घोर आपत्ति व्यक्त गरिन् । उनले सामाजिक सञ्जालमा आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गरिन्।
‘आफूमाथि राजनीतिक पूर्वाग्रह राखी कसैको उक्साहटमा सासु – ससुराले लगाएको आरोप प्रति आफ्नो गम्भीर ध्यनाकर्षण भएको छ ।’ उनले भनिन्,’ सामाजिक संजालमा आएको यस्तो आरोपमा कुनै सत्यता छैन, यस घटना प्रति दुःख व्यक्त गर्दछु ।’
सासु – ससुरालाई घर निकाला गरिएको प्रचार झुठो रहेको जिकिर गर्दै उनले सासु ससुरालाई घरमा फर्कन आग्रह गरिन् । घर सरसफाइ गर्ने विषय बुवाछोरा वीच गत कार्तिक २ गते विवाद भएपछि पारिवारिक सम्बन्धमा तित्तता आएको खुलासा गर्दै उनले सासुससुरा राजविराजमा नन्दको घरमा बस्दै आएको तथा उहाँहरुप्रति कुनै प्रकारको आग्रह पूर्वाग्रह नरहेको बताइन्।
उनले नन्द माधुरी साहको उक्साहटमा पारिवारिक कलह उत्पन्न भएको बताइन्।
ईन्जिनियर विनोद कुमार साहले बुवाले आफूलाई सधैं भेदभाव गरेपनि आफुले सधैं सहज रुपमा लिएको बताए। सामाजिक सञ्जालमा सार्वजानिक भिडियोप्रति दुःख व्यक्त गर्दै यसले छोराबुहारीको प्रगति होस् भन्ने बुवाले कहिल्यै नचाहेको प्रष्ट भएको बताए। आमा बुवालाई घरमा फर्कन अनुरोध गर्दै उनले यसका लागि बाताबरण बनाइदिन संचारकर्मी तथा सरोकारवाला सबैलाई आग्रह समेत गरे ।
यसअघि साह दम्पतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनक गर्दै छोरा बुहारीले घर निकाला गरेकोआरोप लगाएका थिए ।