• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको अमरलती र मझौरामा सडक निर्माणको माग गर्दै यातायात अवरुद्ध

सप्तरीको अमरलती र मझौरामा सडक निर्माणको माग गर्दै यातायात अवरुद्ध
न्यूज टुडे
राजविराज,१२ कार्तिक ।
कठौना – पातो सडकखण्ड अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित अमरलती र वडा नम्बर ७ स्थित मझौरा चोकमा बुधबार सडक निर्माणको माग गर्दै यातायात अवरुद्ध गरिएको छ । अमरलती चौक व्यवस्थापन समितिको अगुवाइमा स्थानीयबासी तथा व्यवसायीद्वारा सडक अवरुद्ध गरेको हो । 
बर्षौ-बर्ष सडक खनेर अलपत्र छोडी निर्माण कार्य सुस्त गतिमा अगाडि बढाएकोले सडक निर्माण कार्य अविलम्ब सक्नुपर्ने दवाव स्वरुप सडक आन्दोलनमा उत्रिएको स्थानीय अरविन्द कुमार चौधरीले बताए । उनले १ महिना भित्र सडक कालोपत्रे गर्ने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । 
१५ बर्ष अगाडिदेखि सडक खनेर अलपत्र छोड्दा दुर्घटना बढेको तथा धुलोले स्वास्थ्य समस्या जटिल पारी पर्यावरण दुषित हुँदा समेत निर्माण कम्पनी र सरकारले सडक निर्माणमा चासो नदिएको व्यवस्थापन समितीका अध्यक्ष दिकु यादवले बताए । निर्माण कम्पनी तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि संघर्षमा उत्रिन बाध्य भएको उनले बताए । 
स्थानीयबासीले विहान साढे १० बजे देखि सुरु गरेको आन्दोलनका कारण उक्त सडकबाट चल्ने सम्पूर्ण सवारी साधन ठप्प भएको छ । सडकमा टायर बालेर र डेक्सबेन्च तेर्साएर गरिएको सडक जाम हालसम्म जारी रहेको स्थानीयले बताएका छन् । 
कठौना-पातो सडक निर्माण कार्य १५ बर्षभन्दा बढीदेखि हुँदा समेत अझै कालोपत्रेसहितका निर्माण कार्यले पूर्णता पाएको छैन । सडक निर्माणमा ढिलासुस्तीले उक्त सडक भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरुले ठूलो सास्ती खेप्नुपरेको छ ।