शम्भुनाथ नगरपालिका वडा नम्बर १ को सहयोगमा जागृति समाज युवा क्लब शम्भुनाथ १ खोक्सर प्रवाहद्वारा संचालित दोश्रो शम्भुनाथ नगर कप जिल्ला स्तरीय महिला/पुरुष पच शिल्ड भलिबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि पुरुष तर्फ डाक्नेश्वरी नगरपालिका र महिला तर्फ शम्भुनाथ नगरपालिकाले हात पारेको छ । शम्भुनाथ नगरपालिका १ स्थित खोक्सर खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा पुरुष र महिला दुबैतर्फ सुरुङ्गा नगरपालिकालाई सोझो ३ सेटमा पराजित गर्दै डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकाले उपाधिमाथि कब्जा जमाएको हो ।
पुरष तर्फको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै पूर्वमन्त्री चौधरी। फोटो: न्यूज टुडे
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको पहिलो खेलमा डाक्नेश्वरीले लगातार क्रमशः २५-२०, २५ – १९ र २५ -२३ को सोझो तीनै सेटमा सुरुङ्गा नगरपालिकालाई पराजित गर्दा जीत हाँसिल गरेको प्रमुख रेफ्री बुद्धिलाल चौधरीले बताए ।
यसैगरी महिला तर्फको दोश्रो खेलमा आयोजक जागृति समाज युवा क्लब शम्भुनाथ १ खोकसर प्रवाहाले लगातार क्रमशः २५ – १४, २५- २१ र २५ – १९ को सोझो तीनै सेटमा सुरुङ्गा नगरपालिकालाई पराजित गरि जीत हाँसिल गरेको प्रमुख रेफ्री चौधरी जानकारी दिए ।
महिला तर्फको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै प्राविधिक शिक्षा अधिकृत चौधरी। फोटो: न्यूज टुडे
जितसंगै पुरुष तर्फ डाक्नेश्वरी नगरपालिकाले नगद २५ हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टिम सुरुङ्गा नगरपालिकाले नगद १८ हजार, ट्रफी , मेडल, प्रमाणपत्र प्राप्त गरे । यसैगरी महिला तर्फ आयोजक शम्भुनाथले नगद १५ हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने उपविजेता सुरुङ्गाले नगद ११ हजारसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरे ।
पुरुष तर्फ उपविजेता टिमका खेलाडीलाई पुरस्कार प्रदान गर्दै वडाध्यक्ष साह । फोटो: न्यूज टुडे
आयोजक समितिका अध्यक्ष ललित नारायण चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका वीच प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, शम्भुनाथ नगरपालिका १ का वडा अध्यक्ष जिवछ साह, प्राविधिक शिक्षा अधिकृत राजेन्द्र चौधरीले विजेता तथा उपविजेता टिमलाई पुरस्कर प्रदान गरे ।
प्रतियोगितामा पुरुष तर्फ सुमन कुमार चौधरी र महिला तर्फ दुर्गा कुमारी सदा म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई शम्भुनाथ नगरपालिकाका शिक्षा शाखाका योगेन्द्र चौधरी र शिक्षक पन्नालाल चौधरीले ट्रफीद्वारा सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री चौधरीले राष्ट्रका लागि स्वास्थका लागि र रोजगारीको लागि खेलकुद अपरिहार्य भएको बताउँदै खेलाडीहरुको दक्षता विकासका लागि स्थानीय सरकारले प्रशिक्षण केन्द्र स्थापना गरि खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यबाहक मेयर अनिता कुमारी चौधरी, रामपुरण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मावि खोक्सरकी प्रधानाध्यापक रिता कुमारी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत दिप नारायण चौधरीले गरे ।
कार्यक्रममा शम्भुनाथ नगरपालिका ५ का वडाध्यक्ष जामुन चौधरी, वडा नम्बर १० का वडाध्यक्ष धर्मेन्द्र कुमार मण्डल, शम्भुनाथ नगरपालिकाकी कार्यबाहक मेयरका सल्लाहकार अनिल कुमार भगत, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ लगायतका उपस्थिति थियो ।