• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अनलाइन ठगीको आरोपमा यादव पक्राउ
न्यूज टुडे
राजविराज,१० कार्तिक । 
अनलाइनबाट पैसा ठगी गरेको आरोपमा मोरङ विराटनगर महानगरपालिका–१६ निवासी २७ वर्षीय अभिनन्द कुमार यादव पक्राउ परेका छन्। जिल्लामा भएका विभिन्न अनलाइन ठगी घटनामा संलग्न भएको आरोपमा सप्तरी प्रहरीले यादवलाई पक्राउ गरेको हो । 
 यावदले देशका विभिन्न स्थानमा रहेका व्यक्तिहरूलाई फोन गरी उनीहरूको छोराछोरी अपहरणमा परेको, विदेशमा करणी मुद्दामा फसेको जस्ता निहुँ बनाई डर त्रास देखाएर रकम ठगी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०८० माघ ६ गते मन्जु देवी शारदालाई फोन गरी छोरा अपहरणमा परेको भन्दै  १२ लाख ८० हजार रुपैयाँ विभिन्न बैंक खातामा जम्मा गराएर ठगी गरेको उजुरी उनीमाथि परेको थियो। माघ ८ गते राजकुमारी देवीलाई पनि छोरा मलेसियामा फसेको भन्दै ६० हजार पठाउन लगाएको र थप रकम माग गरेको खुलेको प्रहरीले जनाएको छ।
यसैगरी मुकेश कुमार सिंहका बुवालाई छोरा अपहरणको आरोपमा पक्राउ परेको भन्दै १ लाख जम्मा गर्न लगाएको उजुरी परेको थियो। यी सबै घटनाहरूको अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त यादवलाई प्रहरीले कात्तिक ८ गते बिहान करिब ०१:३० बजे विराटनगरस्थित उनको घरबाट पक्राउ गरेको  बताइएको छ ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीमा पेश गरेको र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीकाले बताए । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्ला दिनमा यस्ता किसिमका अनलाइन ठगीका घटना बढ्दै गएकाले नागरिकहरूलाई अज्ञात व्यक्तिबाट आएका फोन कल वा म्यासेजमा विश्वास नगरी सावधानी अपनाउन समेत आग्रह  गरिएको छ।