उत्तम आचार्य
कञ्चनरूप, १० कात्तिक ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राजविराज, कञ्चनरूप सहित सप्तरीमा छठ पर्व हर्षोल्लास साथ मनाइएको छ ।
जिल्लाका विभिन्न ठाउँका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको उत्साह पूर्वक उपस्थितिमा छठ मनाइएको हो ।
छठ घाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ ।
सप्तरी जिल्लाको विभिन्न पालिकाहरुमा रहेको पोखरी, नदी तथा जलाशयहरुमा छठ पूजा गर्ने भक्तजनहरुको उल्लखनीय मात्रामा उपस्थिति रहेको छ ।
राजविराजका भगबती पोखरी, कल्टुदास पोखरी तथा कञ्चनरूप नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको डिठ्ठा पोखरी, शिवमन्दिरको पोखरी, नन्दलाल चोकको पोखरी, वडा नम्बर २ को पुरनी पोखरी, वडा नम्बर १२ को सुन्दरी नदी, खानेपानीमा रहेको पोखरी, बस्तिपुर , श्रावणपुर , सितापुरमा रहेको पोखरी , सप्तकोसी नगरपालिकाको त्रियुगा नदी, हनुमाननगर कंकालिनी नगरपालिकाको कोशी व्यारेज, राजविराज नगरपालिकामा रहेको विभिन्न पोखरीमा छठ पूजा गर्ने भक्तजनहरुको हर्सोल्लासका साथ उपस्थिति रहेको छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।छठ कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ।
छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ ।
`श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन्,’। ‘छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ।’
पोखरीमा दिउँसोदेखि नै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ ।
विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ।’
‘महिला बर्तालुहरु पानी नखाई व्रत बस्ने भएकाले परिवारका सदस्यले छठघाटसम्म पूजाका सामग्री बोकेर ल्याउने चलन छ ।
‘परिवारको सुख, शान्ति र भातृत्वको विकास गर्नका लागि यो पर्व निकै महत्वपूर्ण रहेको छ।’ पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास रहेको छ ।