थ्री जिरो युवा क्लब अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ इकराहाद्वारा प्रथम पच शिल्ड फुटबल प्रतियोगिता आयोजना गरेको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित इटहर्वा खेल मैदानमा सोमबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।
थ्री जिरो युवा क्लब इकराहाका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिताको प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पानसमा बत्ती बालेर तथा रेफ्रीलाई गोल हस्तान्तरण गरी उद्घाटन गरे ।
फुटबल प्रतियोगिता उद्घाटन गर्दै डा. राउतले खेलले सामाजिक सद्भाव तथा आपसी एकता बढाउने बताए । खेल र खेलाडीले देशलाई अन्तरास्ट्रिय स्तरमा समेत चिनाउन मदत पुग्ने विश्वास व्यक्त गर्दै उनले राज्यले खेल क्षेत्रको समग्र विकासमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले खेलाडी र खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगुण। फोटो: न्यूज टुडे
प्रतियोगिता उद्घाटन समारोहमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जयकान्त राउत, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, पूर्व उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, नेकपा माओवादी केन्द्रका नेता बेचन प्रसाद चौधरी, जनमत पार्टी क्षेत्र नम्बर १ का इन्चार्ज शिवनन्दन महतो, गाउँपालिका अध्यक्ष दुर्गानन्द यादव, जसपा नेपालका नेता अशोक चौधरी, बेचन कुमार खंग लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।
राप्रवि इटहर्वाका प्रधानाध्यापक सुवास कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय रमाकान्त चौधरीले गरे ।
उद्घाटन खेलमा सहभागी दुबै टिमका खेलाडीहरु। फोटो: न्यूज टुडे
प्रतियोगिताको उद्घाटन खेलमा कंकालिनी युवा क्लब सितापुर विजयी भएको छ । मुसहर्नीया सामुदायिक युवा क्लब खडक नगरपालिकालाई ३-४ गोलान्तरले पराजित गर्दै सितापुर विजयी भएको प्रमुख रेफ्री जय प्रजाश चौधरीले बताए ।
उनका अनुसार पहिलो हापको तेस्रो मिनेटमा मुसहर्नीयाका जर्सी नम्बर १३ का इन्द्रजीत चौधरीले गोल गरे भने त्यसको लगत्तै खेलको पाँचौ मिनेटमा सितापुरका जर्सी नम्बर ९ का दिपेश चौधरीले गोल फर्काएर टिमलाई बराबरीमा पुर्याएको थियो । यसैगरी खेलको १० औ मिनेटमा मुसहर्नीयाका जर्सी नम्बर ७ का संजिव कुमार रामले १ गोल गरि टिमलाई अगाडि बढाए भने त्यस लगत्तै १३ औं मिनेटमा सितापुरका जर्सी नम्बर १० का रुविन तामाङले गोल गरेपछि बराबरी भए ।
खेलको दोश्रो हापको १५ औ मिनेटमा सितापुरका जर्सी नम्बर १२ का आयुष तामाङले १ गोल गर्दै टिमलाई अगाडि बढाए भने खेलको १९ औ मिनेटमा सितापुरका जर्सी नम्बर ४ का सुदिप चौधरीले गोल गर्दै २-४ गोलको अग्रता दिलाए । खेलको २३ औ मिनेटमा मुसहर्नीयाका जर्सी नम्बर ९ का निशान्त चौधरीले १ गोल गरेपनि सितापुर ३-४ गोलान्तरले विजयी भएको अर्का रेफ्री अजय चौधरीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको खेल राजाजी युवा क्लव मोहनपुर सप्तरी र भुवनदास फुटबल क्लव भुवनपट्टी वीच हुने उनले जानकारी दिए ।
प्रतियोगितामा मुसहर्निया फुटबल क्लव, कंकालिनी युवा क्लव सितापुर,श्री दिनाराम भद्री युवा क्लव गिदाहा, थ्री जिरो युवा फुटबल क्लव इकराहा,राजाजी युवा क्लव मोहनपुर सप्तरी, भुवनदास फुटबल क्लव भुवनपट्टी जन्डोल फुटबल क्लव जन्डोल र शम्भुनाथ फुटबल क्लव शम्भुनाथ गरी ८ वटा टिम सहभागी रहेका छन्।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई क्रमशः २५ हजार १ सय ५५ र १५ हजार १ सय ५५ नगद पुरस्कारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिए । खेलका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई समेत ट्रफीद्वारा पुरस्कृत गरिने उनले बताए ।