न्यूज टुडे
राजविराज,१० कार्तिक।
म्याप मेमोरियल सोसाइटी नेपालका अध्यक्ष प्रकाश खतिवडाले सौर्य जहाज दुर्घटनामात्र नभएर जानजानको मानवीय त्रुटीले घटना भएको बताएका छन्। दुर्घट्नाको १५ महिना पुगेको अवसरमा राजविराजमा आईतबार पत्रकार सम्मेलन गरी उनले यस्ताे आरोप लगाएका हुन्।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खतिवडाले जानाजान दुर्घटना गराउने माथि कडा कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्नेमा जोड दिए । उनले सौर्य जहाज दुर्घटनाको छानविन गर्न न्यायिक छानबिन समिति गठन गर्न सरकारसंग जोडदार माग गरे ।
दुर्घटनामा तीन सन्तती गुमाएका परिवारका सदस्य समेत रहेका अध्यक्ष खतिवडाले हवाई उडान, फर्जी यात्रु विवरण देखी नेपाल सरकारको दुर्घटना अनुसन्धान आयोग समेत गैरकानूनी रहेको जिकिर गरे । उनले एयरलाइन्स कम्पनीले विमा दावी गर्न सरकारकै मिलोमतोमा गैरकानूनी हर्कत गरेको दावी गरे । सरकारले कानून मिचेर जाँच अनुसन्धान आयोग बनाएको आरोप लगाउँदै उनले आयोगले एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उमुक्ती दिने मनसायले सरकारलाई नियोजित प्रतिवेदन बुझाएको भन्दै असन्तुष्टी व्यक्त गरे ।
खतिवडाले तत्कालीन केपी ओली नेतृत्वको सरकारले घटना दबाउने षड्यन्त्र गरेको दावी गर्दै उनले शुशिला कार्की नेतृत्वको सरकारले न्यायिक छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याएर उचित न्याय दिने विश्वास व्यक्त गरे ।
उनले पीडित परिवारले न्याय नपाएसम्म निरन्तर खबरदारी गरी राख्ने बताउँदै सरकारले सुनुवाई नगरे छिटै अदालत जाने जानकारी दिए । उनले हवाई यात्रा सुरक्षित होस् र मेरो जस्तो नियति अरु कसैले भोग्नु नपरोस् भन्ने उद्देश्यले म्याप मेमोरियल सोसाइटी नेपाल स्थापना गरी खबरदारी अभियान चलाएको वताए।
खतिवडाले संस्था मार्फत अक्षय कोष स्थापना गरी अधिराज स्मृति छात्रावृत्ति, प्रीजा स्मृति पुरस्कार स्थापना, मनुराज स्मृति पुरस्कार स्थापना गरी प्रत्येक वर्ष १ लाख राशीको पुरस्कार वितरण गर्ने बताए। बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन छात्रावृत्ति, उत्कृष्ट महिला निजामती कर्मचारी तथा राष्ट्रका लागि योगदान गर्ने आविष्कारक, अन्वेषक र अनुसन्धानकर्तालाई प्रोत्सानस्वरुप पुरस्कृत गरिने उनले बताए।
२०८१ साउन ९ गते काठमाण्डौंमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा खतिवडाकी छोरी वर्ष ३१ का प्रिजा खतिवडा, ज्वाइँ वर्ष ४० का मानुराज शर्मा र वर्ष ४ का नाती अधिराज शर्मा सहित १८ जनाको निधन भएको थियो ।