न्यूज टुडे
महुली, ०९ कार्तिक ।
महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहामा संचालित जनचेतना ४४ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरीले जीत हाँसिल गरेको छ । जनचेतना माविको खेल मैदानमा आइतबार सम्पन्न खेलमा बिवाइसी बर्दीवास बेखारी महोत्तरीलाई २-३ गोलले पराजित गर्दै प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरीले जीत हाँसिल गरेको हो ।
जीत संगै सप्तरी सेमिफाइनल प्रवेश गरेको आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले जानकारी दिए ।
निर्धारित ७० औ मिनेटको खेल अवधिमा सप्तरीका शिशिर लेखी, अजय चौधरी,करण चौधरीले क्रमश: १/१ गोल गरि ३ गोल गरे भने महोत्तरीका विज्ञान खड्काले १ मात्र गोल गरेको प्रमुख रेफ्री मोहन चौधरीले बताए। दोश्रो दिनको खेलमा सप्तरीका शिशिर लेखी म्यान अफ दि म्याच घोषत भए। उनले नगद १ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार खेल नहुने र मंगलबारको खेल झुम्का फुटबल क्लब झुम्का सुनसरी र गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, वीच हुने आयोजक समितिका कोषाध्यक्ष संगिता कुमारी सिंहले बताइन् । खेलको प्रत्येक दिनको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकमबाट हुने उनले जानकारी दिइन् ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दिलिप कुमार चौधरीले बताए । प्रतियोगिताको हाई स्कोरर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीहरुलाई समेत शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने उनले बताए।
प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर,अल्टोकी रौतहट, झुम्का फुटबल क्लब झुम्का सुनसरी,गोलबजार स्पोर्ट्स क्लब गोलबजार सिरहा, बिवाइसी बर्दीवास बेखारी महोत्तरी प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, विराट नगर स्पोर्ट्स एकेडेमी मोरङ्ग गरि ८ वटा टिम सहभागी रहेको आयोजक समितिका पूर्व अध्यक्ष शम्भु कुमार चौधरीले जानकारी दिए ।