न्यूज टुडे
राजविराज,०९ कार्तिक ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जेनजी पुस्ताको आन्दोलनको मागलाई सम्बोधन गर्न पनि संसद पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन् । जनमत पत्रकार संघद्वारा सप्तरीको राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डा. राउतले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले संसद नहुँदा जेनजी आन्दोलनका मुद्दाहरुलाई संस्थागत गर्न कठिनाइ भएको बताए ।
‘जेनजी पुस्ताले उठाएको माग मुद्दा जनमत पार्टीको पनि हो’ डा. राउतले भने,संसद विघटन गर्नु ठुलो भुल भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख , सुशासन बारे नीति निर्माण गर्ने जस्ता मुद्दालाई संस्थागत गर्न संसदको विकल्प नै छैन । संसद पुनर्स्थापना गरी संविधानमा भएको त्रुटी संशोधन गरि ताजा जनादेशका लागी चुनावमा जानुभन्दा अर्को कुनै राम्रो उपाय हुनै सक्दैन ।’
आन्दोलनका क्रममा केही परिबर्तन विरोधी समुहहरुले संविधान र संघीयता खारेज हुनुपर्छ भन्ने प्रतिगामी माग गरेको स्मरण गराउँदै डा. राउतले संविधान संशोधन गरेर जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
आफू र आफ्ना पार्टीका साँसदले जेनजी आन्दोलनको सम्मान गर्दै तत्कालै प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिएको उल्लेख गर्दै अध्यक्ष डा. राउतले आफुहरु कहिल्यै पनि जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा विघटनको पक्षमा नरहेको जिकिर गरे ।
” संविधान कुनै पनि हालतमा खारेज हुनहुदैन, अहिले पनि संसद पुनर्स्थापना गर्नु पर्नेमा हाम्रो पार्टीको जोड हो” डा राउतले भने, संविधान संशोधन गर्ने हो । खारेज होइन, संविधानको रक्षाका लागि पनि यस्तो गर्नु आवश्यकता छ। संसदबाटै सबै समस्याको निकास खोज्नुपर्छ । “
जनमत पार्टी मध्यमार्गी पृथक नीति सिधाान्तमा रहेको पार्टी भएको बताउँदै डा. राउतले समाजवाद र लोकतन्त्र दुबैलाई आत्मसात गरि पुरै समाजवाद पनि होईन र पुरै लोकतान्त्रिक पनि होइन वीचको बाटोबाट राज्यलाई निकास दिनुपर्ने पक्षमा जनमत पार्टीले नीति लिएको प्रष्ट पारे ।
‘हामी साँसद पुनर्स्थापना हुनुपर्छ र तोकिएकै समयमा चुनाव पनि हुनुपर्छ भने पक्षमा छौँ र समाजवाद र निजी क्षेत्रलाई प्रोत्साहन पनि गर्नुपर्ने पार्टीको स्पष्ट नीति हो ।’ उनले भने ,’ पार्टीको मध्यमार्गी नीति सिधाान्त लिएकै कारण हामी यस्तो भन्दै छौँ । जनताको चाहना पनि यही नै हो । जनताको इच्छा अपेक्षा भन्दा बाहिर हामी कहिल्यै जाँदैनौ । ‘
उनले जनमत चुनावसंग डराउने पार्टी नभएको जिकिर गर्दै तोकिएकै समयमा चुनाव गराउन पार्टीले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
दस लाखलाई रोजगारी दिने भन्ने चुनावी एजेन्डा किन पुरा गर्नु सक्नु भएन भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै उनले एकजनालाई जिताएर अनुचित अपेक्षा लिनु नहुने बताए । उनले पार्टीले १० लाखलाई रोजगारी दिने नीति लिएको भन्दै आफ्नो पार्टी निर्णायक शक्तिको रुपमा उपस्तिथित भएको दिन पूरा गर्ने दावी गरे ।
काँग्रेस र एमाले मिलेर चुनाव लड्ने सम्भावना बलियो हुँदै गएको भन्दै उनले यस्तो अवस्थामा देश दुइदलिय व्यवस्थामा जाने आशंका व्यक्त गरे ।
अरुको लहलहैमा लागेर विना तर्क विना ज्ञान कुतर्क गर्नेहरुको समुह वृद्धि हुनथालेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष डा. राउतले संघीयताको पक्षमा नागरिक तथा बौद्धिक स्तरबाट खबरदारी गर्नुपर्नेमा जोड दिए ।
जनमत पत्रकार संघका केन्द्रीय अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जनमत पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जयकान्त राउत, मधेस प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव, जिल्ला इन्चार्ज रामगमन साह लगायतका जनमत पार्टीका स्थानीय नेताकार्यकर्ताको समेत उपस्थिति थियो ।