न्यूज टुडे
राजविराज,०१ कार्तिक ।
तलवभत्ता माग गर्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीद्वारा गाउँपालिका र वडा कार्यालयहरुमा लगाइएको ताला खोल्ने सहमति भएको छ । वडा नम्बर १ स्थित एक होटलामा शनिबार आन्दोलनरत शिक्षक कर्मचारी र गाउँपालिकाको प्रतिनिधि वीच भएको दुईपक्षीय वार्तामा यस्तो सहमति जुटेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको व्यस्थापन गरेकाले तलवभत्ता व्यवस्थापनमा सहयोग गर्नका लागि कार्तिक १५ गते सम्म तलवभत्ता व्यस्थापन गर्ने उक्त अवधिमा प्राप्त नभएमा त्यो भन्दा कडा आन्दोलन गर्ने र मिति २०८२/०७/०२ गते आईतवार सबै कार्यालयहरुमा लगाएको ताला खोल्ने दुईपक्षीय सहमती भएको राप्रवि इटहर्वा सितापुरका प्रअ सुवास कुमार चौधरीले जानकारी दिए ।
सहमतीमा गाउँपालिकाको तर्फबाट अध्यक्ष दिनानाथ चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादव र आन्दोलनरत पक्षबाट शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरुले संयुक्त हस्ताक्षर गरेका छन् ।
गत मंगलबार तलवभत्ता माग गर्दै शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले गाउँपालिकाको मुलगेट, अध्यक्ष,उपाध्यक्ष र सम्पुर्ण शाखाहरु तथा ६ वटै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
यस अघि शिक्षक र स्वास्थ्यकर्मीहरुले आइतबार ज्ञापनपत्र बुझाउँदै तालाबन्दीसहितको आन्दोलनको चेतावनी दिएका थिए। ज्ञापनपत्रमा सोमबार सम्म तलव भत्ता उपलब्ध गराउन माग गर्दै २४ घण्टे अल्टिमेटम दिइएको थियो ।
तोकिएको समयमा माग सम्बोधन नगरिए अध्यक्ष, उपाध्यक्ष, वडा कार्यालय र सम्पुर्ण शाखाहरुमा मंगलबार तालाबन्दी गरी धर्ना दिने चेतावनी उनीहरुले दिएका थिए । तिहार विदाको अघिल्लो दिन सम्म पनि माग सम्बोधन नभए छठ पछि गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय स्वास्थ्य संस्थाहरु अनिश्चितकालीन बन्द गर्ने उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी र ६ वटै वडा अध्यक्षलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आन्दोलनको कार्यक्रमबाट सिर्जित हुने सम्पुर्ण क्षतिको जिम्मेवारी गाउँपालिका परिवारले लिनुपर्ने जनाइएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहित जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै आन्दोलनरत बेथिति विसंगति विरुद्ध संघर्ष समितिले भने आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्।
संघर्ष समितिले अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।