न्यूज टुडे
राजविराज,३१ असोज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधारीसहितका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै महुलीमा शुक्रबार जागरण सभा आयोजना गरिएको छ । गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्व संघर्ष समितिद्वारा महुली बजारमा जागरण सभा आयोजना गरेको हो ।
सभालाई सम्बोधन गर्दै वक्ताहरुले भ्रष्टाचारले गन्हाएका जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसक्दा असफल हुन पुगेको बताए। अध्यक्षको सर्वसत्तावादी प्रवृत्ति तथा स्वेच्छाचारी निर्णयलाई समर्थन गर्दै आम जनताको भावनामाथि खेलवाडले गाउँपालिकाको यस्तो दुर्दशा भएको टिप्पणी गर्दै वक्ताहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता आयोजित जागरण सभालाई समितिका प्रवक्ता तुलसी थारु, अभियान्ताहरु रघु सिंह थारु, दुर्गानन्द यादव,,
रामानन्द लेखी, दुर्गानन्द चौधरी श्याम जसराज थारु लगायतकाले सम्बोधन गरे।
कार्यक्रम संचालन संघर्ष समितिका सचिव मिलन कुमार चौधरीले गरेका थिए ।
संघर्ष समितिले अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।