न्यूज टुडे
राजविराज,३१ असोज ।
नेपाल पत्रकार महासंघ सप्तरीले समग्र पत्रकारिताकै बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने स्पष्ट पारेको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका सह -सचिब डम्बर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विक्की सिंह र अजय आदित्यले पत्रकारिताको आडमा अराजक गतिविधिको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विक्की सिंहले आफुलाई पत्रकार भन्दै एक बृद्धलाई रक्ताम्य हुने गरी गरेको कुटपिट तथा १० हजार मागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो । यसैगरी आफुलाई पत्रकार भन्ने अजय आदित्यले एक महिलासंग रकम लिइ फिर्ता नगरेको गुनासो सहितको भिडियो सार्वजनिक भएको छ ।
‘यी दुबै घटना पत्रकारीताको आचारसंहितामा र सिद्धान्त विपरीतको काम हो’ महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ’ पत्रकारिता गर्ने व्यक्ति यस किसिमको गतिविधिमा कहिल्यै संलग्न भएको छैन ।’
आगामी दिनमा समग्र पत्रकारिताकै बदनाम गराउने यस्ता गतिविधि गर्ने कुचेष्टा नगर्न सचेत गराउँदै विज्ञप्तिमा यस्ता गैर कानुनी हर्कत गर्ने जो कोहिलाई कानून बमोजिम कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार आचारसंहिता बमोजिम यो कर्म गर्ने पत्रकारलाई सुरक्षित बाताबरण बनाइदिन सम्पूर्ण जिल्लावासीहरुलाई आग्रह समेत गरिएको छ ।