• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चौधरीलाई

अग्नीसाइरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चौधरीलाई
न्यूज  टुडे
राजविराज,३० असोज । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रमेश कुमार चौधरीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  अग्नीसाइर कृष्णासवरन गाउँपालिकालाई  बिहीवार  पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चौधरीलाई दिएको जानकारी गराएको हो । 
गाउँपालिकाले असोज  २२ गतेको पत्रबाट आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन लेखी आएको सम्बन्धमा स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ८४ को उपादफा ४ बमोजिम खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्म चौधरीलाई जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।  उनलाई बढीमा २०८२ कार्तिक मसान्तसम्मको लागि मात्र जिम्मेवारी प्रदान गरिएको मन्त्रालयद्वारा पठाएको पत्रमा  जनाएको छ । 
गाउँपालिकामा कार्यरत वरिष्ठतम् कर्मचारी रमेश कुमार चौधरीलाई कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि जिम्मेवारी दिएको शाखा अधिकृत पिताम्बर साहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 
पत्रमा कोष तथा लेखा नियन्त्रणक कार्यालय सप्तरी र  अधिकृत आठौं  ईन्जिनियर चौधरीलाई समेत बोधार्थ दिइएको छ । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा पठाइएको केशव कुमार झालाई  भु-माफियाको प्रभावमा परी इटहर्वा बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेको आरोप लागेपछि स्थानीयको विरोध पछि हाजिर नभएकाले प्रमुख प्रशासकीय अधिकृत विवाद उत्कर्षमा पुगेका थिए । 
झा हाजिर नभएपछि तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रदान गर्न कार्यपालिका बैठकले निर्णय गरि मन्त्रालयलाई पत्र पठाएका थिए । 
निर्णयको ४ घण्टा नपुग्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यपालिकाको बैठकको निर्णय उल्टाँउदै यादवलाई रोक्न मन्त्रालयलाई पत्र पठाएको थियो ।  प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा विवाद बढेपछि गाउँपालिका अध्यक्षको एकल निर्णयबाट असंवैधानिक बाटोबाट गाउँपालिका मातहतमा कार्यरत संजय साहलाई जिम्मेवारी दिएको पत्र सार्वजनिक गरेका थिए । 
प्रमुख प्रशासकीय अधिकृतको अन्योलताले दशैमा कर्मचारीहरु तलवभत्ताबाट बन्चित भएका थिए । तलव भत्ता पाउने सुनिश्चितता नभएपछि अहिले शिक्षक कर्मचारीहरुले गाउँपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयमा तालाबन्दी गरि धर्नामा बसेका छन् ।