न्यूज टुडे
राजविराज,३० असोज।
तलवभत्ता माग गर्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीद्वारा गाउँपालिका र वडा कार्यालयहरुमा लगाएको ताला बिहीवार तेस्रो दिन पनि जारी राखेका छन् । तलवभत्ता उपलब्ध हुने सुनिश्चितता नभएसम्म पछि नहट्ने अडान राखेका उनीहरूले गाउँपालिकाको मुलगेट, अध्यक्ष,उपाध्यक्ष र सम्पुर्ण शाखाहरु तथा ६ वटै वडा कार्यालयमा लगाएको ताला कायम राखी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
गाउँपालिका तथा विभिन्न वडा कार्यालयमा ताला लगाएर धर्ना बसेका शिक्षक कर्मचारीहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । राप्रवि इटहर्वा सितापुरका प्रधानाध्यापक सुवास कुमार चौधरीले तलव भत्ता माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि तालाबन्दीसहितको आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
तलव पाउने सुनिश्चितता नभएसम्म तालाबन्दीसहितका संघर्षका कार्यक्रम जारी रहने बताउँदै उनले तिहार अगाडी माग सम्बोधन नभए छठ पछि अतिआवशयक सेवा बाहेकका विद्यालय, स्वास्थ्य संस्था लगायत सम्पुर्ण कार्यालय बन्द गरि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले शुक्रबार देखी आन्दोलनको स्वरुपमा थप गर्दै मोटरसाइकल र्याली र कोणसभा कार्यक्रमसहितका विभिन्न दवावमुलक कार्यक्रम संचालन गर्ने जानकारी दिए ।
शिक्षक कर्मचारीहरुले तालाबन्दी गरि कार्यालय अगाडि धर्ना दिएपछि गाउँपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवासुविधा पुर्ण रुपमा ठप्प भएको छ । गाउँपालिका तथा वडा कार्यालयहरुको कामकाज प्रभावित हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
यस अघि शिक्षक र स्वास्थ्यकर्मीहरुले आइतबार ज्ञापनपत्र बुझाउँदै तालाबन्दीसहितको आन्दोलनको चेतावनी दिएका थिए। ज्ञापनपत्रमा सोमबार सम्म तलव भत्ता उपलब्ध गराउन माग गर्दै २४ घण्टे अल्टिमेटम दिइएको थियो ।
तोकिएको समयमा माग सम्बोधन नगरिए अध्यक्ष, उपाध्यक्ष, वडा कार्यालय र सम्पुर्ण शाखाहरुमा मंगलबार तालाबन्दी गरी धर्ना दिने चेतावनी उनीहरुले दिएका थिए ।तिहार विदाको अघिल्लो दिन सम्म पनि माग सम्बोधन नभए छठ पछि गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय स्वास्थ्य संस्थाहरु अनिश्चितकालीन बन्द गर्ने उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी र ६ वटै वडा अध्यक्षलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आन्दोलनको कार्यक्रमबाट सिर्जित हुने सम्पुर्ण क्षतिको जिम्मेवारी गाउँपालिका परिवारले लिनुपर्ने जनाइएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहित जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै आन्दोलनरत बेथिति विसंगति विरुद्ध संघर्ष समितिले शिक्षक कर्मचारीहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै माग सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
संघर्ष समितिका प्रबक्ता तुलसी थारुले शिक्षक तथा स्वास्थ्यकर्मीलाई समयमा तलव भत्ता खुवाउन नसक्ने जनप्रतिनिधि असक्षम सावित भएको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गरे ।
संघर्ष समितिद्वारा संचालित प्रशवनीमा बिहीवार आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् संघर्ष समितिले अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।