सप्तरीको तिरहुत गाउँपालिका ३ स्थित रहेको श्री भवानी राधा आधारभूत विद्यालय गोइठीलाई नवनिर्मित चारकोठे भवन हस्तान्तरण गरिएको छ । नेपाल युथ फाउन्डेसन नेपालद्वारा विद्यालयमा बुधबार आयोजित एक समारोहका वीच सुविधा सम्पन्न नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
विद्यालयलाई हस्तान्तरण गरिएको नवनिर्मित भवन। फोटो: न्यूज टुडे
तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादव, नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक ललित गहतराजले संयुक्त रुपमा प्रधानाध्यापक अमोद कुमार यादवलाई भवन हस्तान्तरण गरे ।
काष्ट इक्युटी प्रोजेक्ट ( जातीय समानता कार्यक्रम ) अन्तर्गत ट्र्ष्ट मोडलका २ वटा ४ कोठे भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको नेपाल युथ फाउन्डेसन नेपालका कार्यक्रम अधिकृत श्रीलाल सरदारले बताए ।
पिप्रही स्थित सामुदायिक सेवा केन्द्र अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत यादवसहितका टोली । फोटो: न्यूज टुडे
उनले भवनसंगै अपाङ्ग मैत्री चर्पी र सबै सुविधा भएको किचेन सहितका फर्निचर, पंखा लगायतका आवश्यक सामाग्री समेत विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
भवन हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत यादवले फाउन्डेसनले अत्याधुनिक सुविधा सप्पन्न भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे । आफ्ना लागी सबैले गर्छन् तर अरुको हित हुने कार्य गर्ने कमै पाउने भन्दै उनले फाउन्डेसनले शिक्षा क्षेत्रमा परिबर्तन ल्याउने कार्य गरेको भन्दै प्रशंसा गरे ।
फाउन्डेसनका कार्यक्रम संयोजक गहतराजले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउन सहयोग गर्ने उदेश्यले शैक्षिक जागरणसहित विभिन्न सहयोग उपलब्ध गराइएको बताए । उनले जातीय समानता कार्यक्रम अनुसार दिवा खाजा कार्यक्रम, सामुदायिक सिकाइ केन्द्र संचालन, निशुल्क ट्यूशन कार्यक्रम, छात्रवृत्ति, विद्यालय पोशाक, झोला स्टेसनरी आदि सहयोग गर्दै आएको बताए ।
यसैगरी युवायुवतीहरुलाई व्यवसायी तालिम दिने र रोजगारी दिने, साथी परामर्श कार्यक्रम,आर्थिक समृद्धिका लागि आमा समुह गठन, शिशु स्याहार कार्यक्रम तथा जातीय हिंसा,घरेलु हिंसा तथा बालबिवाहा न्यूनीकरणका लागि सडक नाटक जस्ता सामाजिक रुपान्तरणमा टेवा पुग्ने कार्य गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा अभिभावक तथा विद्यार्थीलाई भेटेर विद्यालय पुनः भर्ना अभियान संचालनले विद्यालय छोड्ने दरमा कमी आएको तथा विद्यालयमा बालबालिकाको आकर्षण बढेको पाइएको उनले बताए । दलित पछाडि परेका समुदाय तथा आम जनताले आफुहरुले गरेको कार्यमा विश्वास गर्दै देखिएको परिबर्तनले आफुहरुलाई अत्यन्तै उत्साहीत तुल्याएको उनको भनाइ छ ।
सामुदायिक सिकाइ केन्द्र। फोटो: न्यूज टुडे
संचारकर्मीसहितको टोलीले पिप्राही सेवा केन्द्र, लोहजारा सामुदायिक सेवाकेन्द्र लगायतका विभिन्न सेवा केन्द्र तथा विभिन्न विद्यालयलाई हस्तान्तरण गरिसकेका भवन, मर्मत सम्भार गरि आकर्षक बनाइएको विद्यालय भवनको समेत अनुगमन गरिएको थियो ।