न्यूज टुडे
राजविराज,२९ असोज ।
पत्रकारको हबला दिएर प्रहरीलाई थर्काउने एकजना सप्तरीमा पक्राउ परेका छन् । सिरहा लहान नगरपालिका २४ घर भई काठमाडौको किर्तीपुर बस्ने बर्ष ३८ को मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुममा खटिएका प्रहरी जवान आदर्श कुशवाहालाई इमर्जेन्सी ल्याण्ड लाइन फोन १०० मा फोन गरि अशिष्ट तथा असभ्य रुपमा प्रस्तुत हुँदै एसपी र डिएसपीको फोन नम्बर मागेका थिए । आफुलाई पत्रकार बताउने उनले तथानाम बोल्न थालेपछि प्रहरी जवान कुशवाहाले डिएसपी डम्बर बहादुर पुरीलाई फोन दिएको थियो ।
डिएसपी पुरीलाई समेत अपशब्द गालिगौलज गरि अभद्र व्यवहार गरेपछि महतोलाई राजविराज ५ बाट सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका महतो माथी अभद्र व्यवहारको मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
महतोमाथी यसअघि समेत विभिन्न जिल्लामा दर्ता भएको विभिन्न प्रकृतिको १० वटा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी पुरीले जानकारी दिए ।