• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा मुश्लिम र हिन्दू समुदाय वीच विवाद चर्कियो 

राजविराजमा मुश्लिम र हिन्दू समुदाय वीच विवाद चर्कियो 
 न्यूज टुडे
राजविराज , २१ असोज ।
सप्तरीको राजविराज नगरपालिका २ मा मंगलबार मुश्लिम र हिन्दु समुदाय वीचको विवाद चुलिएको छ । स्थानीय  गुलाव ग्यारेज अगाडि रहेको सार्वजनिक जग्गामा लक्ष्मी पूजाका लागि झण्डा गाडेपछि दुई समुदायबीच विवाद उत्पन्न भएको हो ।
दुईपक्ष वीच भएको झडप नियन्त्रणमा लिँदै प्रहरी। फोटो: न्यूज टुडे
स्थानीय युवाहरूले नजिकिँदै गरेको लक्ष्मी पूजाको अवसरमा उक्त स्थानमा मूर्ति स्थापना गरी पूजाको तयारी गर्ने उद्देश्यले झण्डा गाडेका थिए । तर, सोही स्थानमा मुस्लिम समुदायले मोहर्रम पर्वका अवसरमा ‘दाहा मेला’ आयोजना गर्दै आएको दाबी गर्दै पूजाको अनुमति नदिने अडान लिएपछि विवाद चर्किएको हो ।
एक पक्षले झण्डा उखाल्ने र अर्को पक्षले झण्डा जोगाउने प्रयास गर्दा दुई समूहबीच सामान्य झडपसमेत भएको बताइएको छ । स्थिति नियन्त्रणमा राख्न प्रहरी प्रशासनले दुबै पक्षलाई सम्झाउने प्रयास गरिरहेको छ ।
उक्त सार्वजनिक जमिनमा मुस्लिम समुदायद्वारा परापूर्वकाल देखी मोहर्रमको दाहा  मेला लगाउँदै आएका थिए ।
 यस अघि  दाहा राख्न स्थायी संरचना निर्माण गरेको  समयमा नै विवाद सुरु भएको थियो । यसअघि पनि सार्वजनिक जग्गा अतिक्रमणको विषयमा दुबै पक्षबीच असहमति देखिएको थियो ।  पहिलेदेखि हकभोग गर्दै आएको जग्गामा झण्डा गाडेर केही समूहले दङगा भड्काउन खोजेको मुश्लिम समुदायको आरोप छ । 
गत असार २० गते तत्कालीन प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा दुबै पक्षलाई समेटेर भएको छलफलमा सो संरचनालाई सार्वजनिक जग्गाबाट हटाउने निर्णय गरिएको थियो। तर, सो निर्णय कार्यान्वयन नहुँदा समस्या अझ चर्किएको हो ।
स्थानीयवासीहरूका अनुसार, निर्णय कार्यान्वयन नहुँदा हिन्दु र मुस्लिम समुदायबीच साम्प्रदायिक विवाद उत्पन्न हुने खतरा बढ्दै गएको छ ।
अब सार्वजनिक स्रोतको व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, र धार्मिक सहअस्तित्व जस्ता संवेदनशील विषयमा सबै पक्षले संयमता अपनाउँदै संवादमार्फत समाधान खोज्नु अत्यावश्यक देखिन्छ ।
अहिलेलाई स्थिति नियन्त्रणमा राख्न नेपाल प्रहरी र साशत्र प्रहरी गरी सयौँ सुरक्षाकर्मी परिचालन गरिएको  छ ।  भने विवाद समाधानका लागि स्थानीय प्रशासनले दुबै पक्षलाई बोलाएर छलफल गरिरहेका छन्।