• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उपेन्द्र यादवलाई समातेको दिन गृहमन्त्री र प्रधानमन्त्री दुबैले राजिनामा दिनुपर्छ : नेता सुमन

उपेन्द्र यादवलाई समातेको दिन गृहमन्त्री र प्रधानमन्त्री दुबैले राजिनामा दिनुपर्छ : नेता सुमन
न्यूज टुडे
राजविराज,१४ भदौ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय प्रवक्ता एवम् मधेस प्रदेशसभा सदस्य मनिष सुमनले उपेन्द्र यादवलाई समातेको दिन गृहमन्त्री र प्रधानमन्त्री दुबैजनाले राजिनामा दिनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ द्वारा सप्तरीको पथलगढामा शनिबार आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता सुमनले यस्तो बताएका हुन् । 
विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य पूजा चौधरी । फोटो : न्यूज टुडे
कोणसभालाई सम्बोधन गर्दै नेता सुमनले भूमि सम्बन्धि  विधेयक मधेशको हित विपरीत भएको बताए । उनले भूमि सम्बन्धि विधेयक राष्ट्रियसभाबाट पारित नहुने दावी गरे ।
उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धि विधेयक विचौलिया र चुरे विनाश गर्ने भु-माफियाको डिजाइनमा ल्याएको र यथास्थितिमा समर्थन जनाउन नसक्ने भनेपछि निसाना बनाइएको आरोप लगाए । राजनीतिक प्रतिशोध साध्न कतै संलग्न नभएको अध्यक्षको नाम मुछेर गौरघटनामा छानबिन गर्ने परमादेश प्रधानमन्त्री केपी ओलीकै योजनामा आएको जिकिर गरे । 
कोणसभालाई सम्बोधन गर्दै प्रदेश मुख्यसचिव दिनेश कुमार यादव । फोटो : न्यूज टुडे
गौरघटनालाई लिएर अध्यक्षलाई समात्ने दुस्साहस गरे  मधेस र देश ठप्प पार्ने चेतावनी दिदै नेता सुमनले राष्ट्रिय अध्यक्षलाई राज्यले नियन्त्रण लिएको दिन गृहमन्त्री र प्रधानमन्त्री दुबैजनाले राजिनामा दिनुपर्ने बताए ।
यसैगरी राष्ट्रिय सभा सदस्य पूजा चौधरीले भूमि सम्बन्धि विधेयक राष्ट्रिय सभाबाट पास हुन नदिने बताइन् । उनले राष्ट्रघाती विधेयकको विपक्षमा उभिदा पार्टी अध्यक्षमाथि षड्यन्त्र सुरुभएको भन्दै यसका लागि कडा प्रतिकार गर्नुपर्नेमा जोड दिइन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पथलगढामा निकालिएको विरोध जुलुस । फोटो : न्यूज टुडे
 डाकेश्वरी नगरपालिका अध्यक्ष लक्षणदेव साहको अध्यक्षता आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवम् मधेस प्रदेशसभा सदस्य किरण कुमारी साह,  केन्द्रीय सदस्य डा. बबी सिंह  यादव,  केन्द्रीय सल्लाहकार समिति सदस्य चुलाही मण्डल, मधेस प्रदेशका मुख्यसचिब दिनेश कुमार यादव, प्रदेश सदस्य सुरेन्द्र प्रसाद यादव, जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, बेचनीदेवी सरदार,बेचु साह, कमलदेव यादव, शिव नारायण साहले भुमि विधेयक अगाडि बढाएको भन्दै आक्रोश पोखे ।
उनीहरुले भूमि सम्बन्धि विधेयक खारेज  गर्नुपर्ने तथा गौर घटनामा उपेन्द्र यादवमाथि  छानबिन गर्ने परमादेश फिर्ता गर्न माग गरे ।  बक्ताहरुले भूमि विधेयक अगाडि बढाए र गौर घटनामा उपेन्द्र यादवलाई फँसाउन षड्यन्त्र गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। 
तराई मधेसलाई मरुभूमि बनाउने तथा राष्ट्रहीत विपरीत रहेको भूमि विधेयकमा पार्टीले विरोध जनाएको निहुँमा  सरकारको इसारामा पार्टी अध्यक्षमाथि छानबिन गर्ने परमादेश जारी भएकोले स्वीकार नहुने उनीहरुको भनाइ थियो । सरकारले देशलाई द्वन्दतर्फ ढकेलेको उल्लेख गर्दै उनीहरुले चौथो मधेस विद्रोह सुरु भइसकेको भन्दै आन्दोलनको तयारीमा जुट्न सम्पुर्ण नेताकार्यकर्तालाई आग्रह गरे । 
उक्त अवसरमा पार्टीकी केन्द्रीय सदस्य पुनम यादव, रमिलादेवी साह,उपमा देव,,प्रदेश लेखा समिति संयोजक अमृत साँफी,  सदस्य विनोद यादव,  जिल्ला अध्यक्ष केदार प्रसाद यादव, उपाध्यक्ष हरेराम यादव, सचिब निरज मुक्ति,  पूर्व कोषाध्यक्ष बृजमान तामाङ, बोदेबर्साईन नगरपालिका अध्यक्ष अरभेन्द्र कुमार यादव लगायतका नेताकार्यकर्ताहरुको समेत उपस्थिति थियो । 
कार्यक्रम संचालन जसपा नेपाल डाक्नेश्वरी नगरपालिका सचिव उमेश यादवले गरेका थिए । 
जसपा नेपालले पहिलो चरणको आन्दोलन अन्तर्गत सप्तरीको ४ वटै क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको तथा भदौ १६ गते सदरमुकाम राजविराजमा विशाल प्रदर्शन तथा विरोधसभा आयोजना गरिने जसपा नेपाल सप्तरीकी उपसचिव रिता कुमारी चौधरीले जानकारी दिइन् ।